काठमाडौं ७ साउन /भोजपुर जिल्ला शिक्षा कार्यालयले स्थानीय तहअनुसार ठेगाना परिवर्तन गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन सम्पन्न भएपश्चात् सोहीअनुसार ठेगाना परिवर्तन गर्न भन्दै कार्यालयले यस्तो निर्देशन दिएको हो ।
जिल्ला सञ्चालनमा रहेका ४ सय ११ ओटै विद्यालयले स्थानीय संरचनाअनुसार ठेगाना परिवर्तन गर्नुपर्ने जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत रेवतीप्रसाद पराजुलीले जानकारी दिए ।
अब विद्यालयहरूले आर्थिक, प्रशासनिक, शैक्षिकलगायत सम्पूर्ण कार्य परिवर्तित संरचनाअनुसार गर्नुपर्ने भएको छ । त्यस्तै, विद्यालयले नयाँ संरचनाअनुसारको ठेगाना भएको बोर्ड, प्रमाण पत्र, लेटर प्याडलगायत परिवर्तन गर्नुपर्नेछ ।
जिल्ला तीन विद्यालयलाई नमुना विद्यालय बनाइने भएको छ । षडानन्द नगरपालिकाका वीरेन्द्र माध्यमिक विद्यालय कुलुङ, षडानन्द माध्यमिक विद्यालय र भोजपुर नगरपालिकाको विद्योदय माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउने निर्णय भएको जिल्ला शिक्षा कार्यालय भोजपुरले जनाएको छ । शिक्षा विभागको निर्णयअनुसार ती विद्यालयलाई नमुना विद्यालयका रूपका विकास गर्न लागिएको हो ।
जसका लागि दुई ओटा विद्यालयका लागि २८ लाख ५० हजारको दरले ५७ लाख रुपैयाँ निकासा भइसकेको छ भने एउटा विद्यालय भने पछि मात्र घोषणा भएकाले यो आर्थिक वर्षमा मात्र बजेट निकासा हुने जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत रेवतीप्रसाद पराजुलीले जानकारी दिए ।
यी नमुना विद्यालयमा पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, इलाइब्रेरीलगायत रहनेछन् । साथै भौतिक पूर्वाधारको पनि विकास गरिनेछ ।आन्तरिक अध्ययनमा प्रोत्साहन गर्न विद्यालयलाई नमुना विद्यालय घोषणा गरेर काम गर्न लागिएको हो । शिक्षा विभागले विद्यालयसँग कार्य सम्पादनमा सम्झौता गरेपश्चात् काम सुरु हुनेछ । विद्यालयहरूले कार्ययोजना पनि तयार गर्नुपर्नेछ ।
राजधानीमा प्रकाशित खबर ।