प्रवेश परीक्षाको प्रश्नपत्र ‘आउट’
शिक्षाखबर डेस्क
९ श्रावण २०७४, सोमबार
no immg

काठमाडौं ९ साउन /प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शनिबार लिएको प्रवेश परीक्षाको प्रश्नपत्र जनकपुरबाट बाहिरिएको छ। जनकपुरको नेपाल टेक्निकल इन्स्टिच्युटबाट परीक्षा सञ्चालन भएको केही समयपछि भाइबरमार्फत प्रश्नपत्र बाहिर पठाएको सूचना आफूले पाएको परीक्षा नियन्त्रक ईश्वरी भट्टले बताए। ‘हाम्रा साथीहरू प्रश्नपत्र बाँड्न थाल्नुभएछ, त्यसबेला परीक्षा हलबाट फोटो खिचेपछि भाइबरमार्फत बिहान ८.५५ मा बाहिर ल्याइयो भन्ने छ,’ भट्टले भने, ‘छानबिन गरेपछि मात्रै यथार्थ बाहिर आउनेछ।’

शनिबार सीटीईभीटीले पूर्ण शुल्क तिरेर पढ्न चाहने ३८ हजार विद्यालयका लागि प्रवेश परीक्षा लिएको थियो। प्रश्नपत्र बाहिरिएको खबर सार्वजनिक भएको दुई दिन बितिसक्दा पनि शनिबारको परीक्षा रद्द हुने हो/होइन कुनै निर्णय हुन सकेको छैन। परीक्षा हलबाट बाहिर पठाएको प्रश्नपत्र र त्यसको उत्तर लेखिएको कागजको टुक्रा आइतबार दिउँसो नै सञ्चारमाध्यममा सार्वजनिक भएको हो।

शिक्षामन्त्री एवं सीटीईभीटीका अध्यक्ष गोपालमान श्रेष्ठ, सदस्य सचिव पुष्परमण वाग्ले विदेश भ्रमणमा भएकै कारण यस विषयमा कुनै निर्णय हुन सकेको छैन। ‘सदस्य सचिवज्यू फर्कंदै हुनुहुन्छ, भोलि (सोमबार) परीक्षा समितिको बैठक बसेर यस विषयमा निर्णय हुनेछ,’ उनले भने। नियन्त्रक भट्टले आफूलाई हटाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई यस विषयमा छानबिन गराउन माग गरेका छन्। आइतबार नै प्रहरीलाई अनुसन्धान गर्न आग्रह गर्ने भनिए पनि सदस्यसचिव वाग्ले विदेशबाट फर्केर सल्लाह गरेपछि मात्रै पत्राचार गर्ने तयारी भएको छ।

सीटीईभीटीले परीक्षा हलमा पत्रकारलाई समेत फोटो खिच्न नदिन निर्देशन दिएको थियो। राजधानीको तीनकुनेस्थित एक परीक्षा केन्द्रमा कान्तिपुरकर्मीलाई केन्द्राध्यक्षले फोटो खिच्नसमेत रोक लगाएका थिए। सानोठिमीको अर्को परीक्षा केन्द्रमा सीटीईभीटी परीक्षा केन्द्रकै कर्मचारीलाई सँगै लगेपछि मात्रै फोटो खिच्न दिइएको थियो। विद्यार्थीलाई परीक्षा हलमा मोबाइल लैजान प्रतिबन्ध गरिएको थियो। परीक्षा केन्द्रका कर्मचारी र सीटीईभीटीबाट खटिएका कर्मचारीलाई भने मोबाइल लैजान प्रतिबन्ध थिएन। प्रश्नपत्र बाहिर ल्याउन सीटीईभीटीका कर्मचारी र परीक्षा केन्द्रका कर्मचारीबाहेक अरूले सम्भव नै नरहेको जानकार बताउँछन्।

सीटीईभीटीका अनुसार तीनवर्षे डिप्लोमा कोर्स गर्न ३८ हजार ८ सय ८६ जनाले आवेदन फाराम भरेका थिए। यसमध्ये शनिबार कति जनाले परीक्षा दिए भन्ने यकिन तथ्यांक छैन। फाराम भर्नेमा सबैभन्दा बढी नर्सिङमा १० हजार १ सय ४ जना, एचएमा ७ हजार ५ सय ६१, फार्मेसीमा ३ हजार ८ सय ७० थिए। त्यस्तै सिभिल इन्जिनियरिङमा ५ हजार ४ सय ३, कृषि (प्लान्ट) मा ३ हजार ६ सय ६८ जनाले आवेदन दिएका थिए।

सीटीईभीटीमा यसअघि पनि प्रवेश परीक्षाको प्रश्नपत्र कर्मचारीको मिलेमतोमा आउट भएको थियो। प्रश्नपत्र बाहिर ल्याउने कर्मचारीलाई कारबाही नहुँदा बर्सेनि यस्ता घटना दोहोरिने गरेका छन्। यसअघि प्रश्नपत्र बाहिर ल्याउने कर्मचारीलाई पाँच हजार जरिवाना गरिएको थियो।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया