काठमाडौं श्रावण १०, २०७४ सरकारले शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको अनसन अनावस्यक रहेको प्रतिक्रिया दिएको छ । चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने लगायतका माग सहित डा. केसीले हिजो ११ औं पटक अनसन शुरु गर्नुभएको छ । शिक्षा मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठले डा. केसीको अहिलेको अनसन आवश्यक नरहेको बताउनु भयो । रेडियो कान्तिपुरसंग कुरा गर्दै सचिव श्रेष्ठले चिकित्सा शिक्षा सम्बन्धी विधेयक तत्काल पास गर्नु पर्ने डा. केसीको माग पुरा हुने प्रक्रियामा रहेको भन्दै अनसन बस्नुको औचित्य नभएको जिकिर गर्नुभयो । विधेयक पारित गर्ने प्रक्रियामा रहेकाले केहि दिन मै यसले एउटा निष्कर्ष पाउने उहाँको भनाई छ । यसअघि सरकारले प्रतिवद्धता व्यक्त गरेका माग पुरा नभएको भन्दै डा केसीले फेरि अनसन शुरु गर्नुभएको हो ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रकाशित:श्रावण १०मंगलबार , २०७४