श्रावण २२, २०७४
चिकित्सा शिक्षा र सेवामा सुधारको माग गर्दै ११ औं पटक अनसनरत डा. गोविन्द केसीको मागप्रति सरोकारवालाले सकारात्मक धारणा राखे पनि ठोस निर्णय भने हुन सकेको छैन । शिक्षण अस्पतालका प्राध्यापक डाक्टर केसी / चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने माग सहित अनसन बसेको आज १४ औं दिन भइसक्दा पनि सरकारी पक्षले समस्या समाधानका लागि ठोस पहल लिएको छैन ।
सरकारी पक्षबाट आश्वासन मात्र आएको डा. केसीका प्रतिनिधिले बताएका छन् । हिजो दुबै पक्षबीच वार्ता भएपनि सहमति भने हुन सकेन । अस्ति शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नै पहलमा सरोकारवाला पक्षसंग छलफल गर्नु भएको थियो । माथेमा कार्यदलको प्रतिवेदन प्रतिकुल नहुने गरि चिकित्सा शिक्षा विधेयक पारित गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले आश्वासन दिनु भएको छ । यद्यपि आज वार्ताको कुनै छाँटकाँट नरहेको डा. केसी पक्षका प्रतिनिधि डा. सुमन सापकोटाले बताउनुभयो ।
यसअघि भएका छ पटकको वार्ता विना निष्कर्ष टुङ्गिएको थियो । चिकित्सा शिक्षा सम्बन्धी विधेयक संसदबाट तत्काल पारित गरिनुपर्ने लगायत ११ बुँदे माग गर्दै डा. केसी ११ औं पटक अनशनमा बस्नु भएको हो । उहाँको स्वास्थ्य अबस्था पछिल्लो पटक नाजुक बन्दै गएको छ ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रकाशित मिति २०७४ श्रावण २२ ,आईतवार