मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा नियमावलीविपरीत सहायक डिन नियुक्ति भएको भन्ने उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । कार्यकारी परिषद्ले नियमावली विपरित राजनीतिक भागबण्डा मिलाउन वीरेन्द्र खड्कालाई इन्जिनियरिङ संकायको सहायक डिन नियुक्त गरिएको विषयलाई लिएर परेको उजुरीका आधारमा अख्तियारको सुर्खेत कार्यालयले छानविन थालेको हो । परिषद्ले स्थायी उपप्राध्याक नभएका व्यक्तिलाई सहायक डिन बनाएको तथा योग्यता नपुगेको भन्दै उजुरी परेको थियो । काठमाडौं इन्जिनियरिङ कलेजमा दुई बर्ष प्रशिक्षकका रुपमा शिक्षण गराएकालाई एमयूले सह–सचिवस्तरको सेवा सुविधा पाउने गरी सहायक डिन पदमा नियुक्त गरेको थियो । उजुरीमा अयोग्यलाई नियुक्तिको सिफारिस गर्ने डिन ललितविक्रम राणा तथा नियुक्त गर्ने उपकूलपति प्रा. डा. उपेन्द्रकुमार कोइराला, रजिष्ट्रार महेन्द्रकुमार मल्लले पदीय हैसियतको दुरुपयोग गरेको भन्दै कारबाहीको माग गरिएको छ । कार्यकारी परिषद्को गत फागुन २ गते बसेको बैठकले खड्कालाई सहायक डिन नियुक्त गर्ने निर्णय गरेको थियो ।