बिद्यार्थि नियमितता र गुणस्तरीय शिक्षाका लागि ५ बुंदे प्रतिवद्धता
शिक्षाखबर डेस्क
१ मंसिर २०७४, शुक्रबार
no immg

नेपालगन्ज, ३० कात्तिक/ सबैले आ आफ्नो जिम्मेवारीलाई ईमान्दारितापूर्वक समयमै पुरा गरेर गुणस्तरीय शिक्षामा योगदान पुरयाउने ५ बुंदे सामुहिक प्रतिवद्धता यहाँ ब्यक्त गरिएको छ ।
बिद्यार्थी नियमितता र गुणस्तरीय शिक्षाका लागि विहिबार नेपालगन्ज उपमहानगरपालिका–१० स्थित युद्ध संस्कृत माविमा आयोजना गरिएको ‘शिक्षा संवाद’ कार्यक्रममा शिक्षक, अभिभावक, बिद्यालय ब्यबस्थापन समिति र जिल्ला शिक्षा कार्यालयले सो ५ बुंदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

संवाद कार्यक्रममा सहभागि अभिभावक, शिक्षक, बिद्यार्थि, बिद्याय ब्यबस्थापन समित र जिल्ला शिक्षा कार्यालयका कर्मचारीविच भएको अन्तरक्रिया र छलफल पछि सामुहिक रुपमा ५ बुंदे प्रतिवद्धता तयार गरिएको थियो ।
बिद्यार्थी नियमितिता र गुणस्तरीय शिक्षाका लागि संवादमा सहभागि सबैले मिलेर तयार गरिएका प्रतिवद्धताहरुमा कक्षागत शिक्षकले हरेक महिना कक्षागत रुपमा अभिभावक भेला गर्ने, शिक्षक अभिभावक संघ र विद्यालय ब्यबस्थापन समितिको नियमित बैठक बसेर छलफल तथा अन्तरक्रिया गर्ने, बिद्यालय संचालन हुने अवधीभरी विहान १० देखि बेलुका ४ बजेसम्म नियमित कक्षा संचालन गर्ने, जिल्ला शिक्षा कार्यालयले नियमित निरिक्षण र अवलोकन गर्ने तथा तयार पारिएका प्रतिवद्धतालाई पुरा गर्ने रहेका छन् ।

सो कार्यक्रममा सहभागि अधिकांश अभिभावकले शिक्षक गैरजिम्मेवार भएको, बिद्यालयमा पढाई नहुने तथा बिद्यार्थिलाई हाफ टाइमपछि ध्यान नदिइने गरिएको जनाएका थिए भने शिक्षकले अभिभावक गैर जिम्मेवार भएको, अभिभावकले बिद्यालयमा कहिलै नआउने तथा बालबालिकालाई घरमा नपढाउने जस्ता कारणले गुणस्तरीय शिक्षा दिन नसकिएको बताएका थिए ।
हाफटाइमपछि अधिकांश बिद्यार्थी घर जाने र फर्केर नआउने कुरा शिक्षकले उठाएका थिए भने हाफटाइमपछि पढाईनै नहुने हुँदा आफुहरु विद्यालयमा नबस्ने बिद्यार्थीको भनाई थियो ।

सो अवसरमा जिल्ला शिक्षा कार्यालय बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्ख बहादुर थापाले अभिभावक र शिक्षकले आफ्नो जिम्मेवारी पुरा गरेमा शिक्षालाई गुणस्तरीय बनाउन सहज हुने बताए ।
उनले बिद्यालयमा आउने बिद्यार्थी टिकाउने दायीत्व शिक्षकको भएको र बिद्यालय पठाउने दायीत्व अभिभावकको भएको पनि प्रष्ट पारे ।
उक्त कार्यक्रममा अभिभावकहरु लक्ष्मी पन्त, सुरज हरिजन र ममता पन्तले बिद्यालयले कडाई नगरेको र पठनपाठनमा लापरवाही गरेकोले समस्या आएको बताएका थिए । बिद्यार्थीहरु गोविन्द पुनमगर, अन्जु चौधरी, बिद्या हरिजन र सरिता मगरले शिक्षकहरुको लापरवाहीले पढाई नियमित हुननसकेको बताएका थिए ।

यसैगरी सो बिद्यालयका प्रधानाध्यापक दिलिप कुमार श्रीवास्तव, शिक्षकहरु नरायण दत्त र सुशिला कोइरालाले आफुहरुले धेरै प्रयास गरेर पनि अभिभावकको बेवास्ताका कारण बिद्यार्थीको उपस्थिती नै कम रहने गरेको बताए ।
सो अवसरमा वडा नम्बर १० का वडा अध्यक्ष विन्दु भुषण बस्नेत, बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान, नेपालगन्जका पूर्व मेयर विजय गुप्ता र श्रोत ब्यक्ति ईश्वर पौडेलले अभिभावक र शिक्षक दुबैले आ आफ्ना जिम्मेवारी पूर्ण रुपमा पालना गर्न सुझाव दिएका थिए । सो संवाद कार्यक्रमको सहजीकरण पत्रकार राकेश मिश्रले गरेका थिए ।

 

प्रतिक्रिया