काठमाडौं १८ पुस पर्वतको कुश्मा नगरपालिका ९ कटुवाचौपारीमा रहेको सार्वजनिक माविमा २०६१ देखि ०७२/७३ को शैक्षिक सत्रसम्म विद्यार्थी संख्या ३ गुणा घटयो । ०६१/६२ मा ५ सयको हाराहारीमा रहेका विद्यार्थी बर्सेनि घट्ने क्रम नरोकिँदा ०७३ सम्म आइपुग्दा १४४ मा झर्यो ।
०५३ मा माविको स्थायी अनुमति पाए पनि विद्यार्थी संख्याकै कारण मर्ज हुने स्थितिसम्म आएपछि शिक्षक र अभिभावक चिन्तित हुन थाले । विद्यालयलाई विद्यार्थी संख्या बढाउन शिक्षा कार्यालयले चुनौती नै दियो । त्यसका लागि १ वर्षको समय थियो ।
शिक्षक र अभिभावकले जुक्ति निकाले । विद्यार्थीलाई नि:शुल्क खाजा खुवाउने । आगामी सत्रदेखि प्रावि तहमा अंग्रेजी माध्यमबाट अध्यापन गराउने । विद्यालयसँग आर्थिक स्रोत नभएपछि ०७३ को तिहारमा गाउँभरि भैलो खेलेरसाढे ४ लाख रुपैयाँ जुट्यो । त्यही रकमबाट प्राथमिक तहका विद्यार्थीलाई नि:शुल्क खाजा खुवाउन थालियो । तर, अंग्रेजी माध्यमको शिक्षा सोही सत्रमा सम्भव भएन ।
मंसिरबाट सुरु भएको खाजा कार्यक्रमले वैशाखसम्म विद्यालय समयमा कक्षा छाड्ने विद्यार्थी संख्या शून्यमा झर्यो । शिक्षकहरूले अठोट गरेको अंग्रेजी माध्यम वैशाखमा सुरु भयो । त्यतिले मात्रै पुगेन । शिक्षक–अभिभावकको बैठकले केही बाध्यकारी नियम पनि बनायो । व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकका छोराछोरी अनिवार्य सोही विद्यालयमै पढाउनुपर्ने, शिक्षकले तोकिएको पोसाक लगाउनैपर्ने, शिक्षक डायरी, निरन्तर मूल्यांकनलगायत ९ बुँदा । सबै बुँदा अक्षरश: पालना पनि गरे । ‘बोर्डिङ टपेकी छोरी केशव सरले यहीं ल्याउनुभयो,’ व्यवस्थापन समिति अध्यक्ष सरोज वैरागीले भने, ‘त्यो कुरा सबैका लागि प्रेरणा बन्यो ।’ व्यवस्थापन समिति र शिक्षकले एक महिना भर्ना कार्यक्रम सञ्चालन गरे । त्यस अवसरमा ७२ नयाँ विद्यार्थी आए । तीमध्ये ४४ निजी स्कुलबाट आएका थिए ।
आफ्नै प्रयासले बढेको विद्यार्थी संख्या देखेर अहिले शिक्षक–अभिभावक दंग छन् । ‘इच्छाशक्ति र लगनशील भए सफल हुन कठिन रहेनछ,’ सोमबार आयोजित विद्यालयको वार्षिकोत्सवमा प्रधानाध्यापक चन्द्रशेखर उपाध्यायले भने, ‘यो १ वर्षमा अभिभावकको साथ र हाम्रो लगनशीलले खुसी भएका छौं ।’
विद्यालयले थालेको खाजा कार्यक्रमले प्राथमिक तहका विद्यार्थी नियमित मात्रै नभई शैक्षिक मूल्यांकनमा पनि राम्रो नतिजा आएको शिक्षकहरू बताउँछन् । त्योसँगै नयाँ भर्नाको चाप पनि बढेको छ । अघिल्लो वर्ष १४४ भर्ना भएकामध्ये मुस्किलले सयको हाराहारीमा आउने विद्यार्थी संख्या अहिले १७६ पुगेको छ । अंग्रेजी माध्यममा स्तरोन्नति गरेपछि विद्यालयले निजी विद्यालयसरह बालकक्षाका अलावा केजी कक्षा पनि सञ्चालन गरेको छ । प्राथमिक तहमै अघिल्लो वर्षको भन्दा ३३ प्रतिशत विद्यार्थी बढेका छन् । ‘अघिल्लो वर्ष प्राविमा ५० मात्रै भर्ना भएका थिए,’ शिक्षक केशव तिवारीले भने, ‘अहिले नियमित आउने ६७ पुगे ।’ दिवा खाजाका कारण उपल्लोभन्दा तल्लो कक्षाका विद्यार्थीको नियमितता बढिरहेको उनले बताए । चालु शैक्षिक सत्रको हालसम्मको उपलब्धि अन्य निजी विद्यालयसँगको प्रतिस्पर्धीको हाराहारी पुग्न लागेको वार्षिकोत्सवमा शिक्षकहरूले समीक्षा गरे । चालु सत्रदेखि विद्यालयमा विद्युतीय हाजिरी, शिक्षकको दैनिक डायरी, दैनिक विद्यार्थी मूल्यांकन अनिवार्य गरिएको छ । कमजोर देखिएको गणितलाई प्राथमिकतामा राखेर अतिरिक्त कक्षा पनि चलाइएको छ ।
आगामी सत्रदेखि स्रोत जुटाएर खाजा कार्यक्रम सबै विद्यार्थीसम्म पुर्याउने लक्ष्य शिक्षकहरूको छ । त्यसमा साथ दिन अभिभावक तयार छन् । ‘शैक्षिक उपलब्धिका हरेक पक्षमा सहयोग गर्न हामी तयार छौं । तर, पहिलो प्रयास शिक्षकहरूबाट हुनुपर्यो,’ अभिभावक मधु पौडेलले भने । कुश्मा नगरपालिका उपप्रमुख सीता काफ्ले लामिछानेले शैक्षिक व्यवस्थापनको जिम्मा नगरपालिकामै आएकाले आवश्यक सहयोग गर्न तयार रहेको बताइन् । विद्यालयले आगामी ५ वर्षभित्र विद्यार्थी संख्या हजार पुर्याउने लक्ष्य राखेको छ । ‘तर, त्यसका लागि केही चुनौती पनि छन्,’ प्रअ उपाध्यायले भने, ‘गणित शिक्षक, खेल मैदानको अपर्याप्तता, शौचालय र खानेपानी समस्या प्रमुख चुनौती हुन् । समाधानको प्रयासमा छौं ।’
कान्तिपुरमा अगन्धर तिवारीले लेखेको खबर ।