काठमाडौं– आज माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) र नेपालको सवैभन्दा जेठो विद्यार्थी संगठन नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसनबीच एकता भएको छ। आज प्रज्ञाप्रतिष्ठानमा आयोजित एकता घोषणा कार्यक्रममार्फत ती दुई संगठनबीच एकता भएको हो ।
कार्यक्रममा क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र फेडरेसनका संयोजक दिपक जोशीले एकता विज्ञप्तिमा संयुक्त रुपमा हस्ताक्षर गरी एकता भएको क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताएका छन् ।
वि.स.२००७ साल असार १७ गते स्थापित ने.रा.वि.फे.नेपालकै पहिलो र जेठो विद्यार्थी संगठन मानिन्छ । नेराविफे कै झण्डामुनी वि.स.२००८ कार्तिक २० गते दिल्ली सम्झौता विरोधी आन्दोलनका क्रममा चिनियाकाजी श्रेष्ठको हत्या भएको एकता विज्ञप्तिमा जनाइएको छ।
यो एकताले अखिल(क्रान्तिकारी) को २१ औं राष्ट्रिय सम्मेलनवाट पारित समाजवादी शिक्षा प्राप्तिको कार्यदिशालाई अझ नयाँ उचाइमा पुर्याउने विश्वास लिएका छौं, जारी एकता विज्ञप्तिमा भनिएको छ।