फागुन-४,काठमाण्डौ, स्वास्थ्यमन्त्री दीपक बोहोराले चिकित्सा शिक्षा अध्यादेश र बिरामीलाई जीविकोपार्जन भत्तास्वरूप दिएको पाँच हजार आफ्नो कार्यकालको ठूलो उपलब्धि भएको बताए ।
स्वास्थ्य मन्त्रालयबाट बिदाइ हुने क्रममा बोहोराले राज्यलाई कुनै आर्थिक भार नपर्ने गरी गरिएको उदाहरणीय काम पाँच हजार भत्ता दिनु भएको बताए । ‘म स्वास्थ्यमन्त्री भएर आउँदै गर्दा डा. गोविन्द केसी अनशनमा बसेका थिए । मैले उनको अनशन पदभार ग्रहण गरेको एक घन्टामा तोडाउन सफल भएँ । उनले भनेअनुसार चिकित्सा शिक्षा विधेयकलाई अध्यादेशमार्फत ल्यायौँ, यो मेरो ठूलो उपलब्धि हो ।’ बोहोराले भने, ‘चिकित्सा शिक्षा अध्यादेश जारी हुनु र मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरी भएका बिरामीलाई ५ हजार भत्ता दिने व्यवस्थाको सुरुवात आफ्नो कार्यकालको प्रमुख उपलब्धि हो ।’