दुर्गम् पुगेनन् शिक्षक र पाठ्यपुस्तक
शिक्षाखबर डेस्क
२० फाल्गुन २०७४, आईतवार
no immg

हुम्ला — फागुनबाट शैक्षिक सत्र सुरु हुने हुम्लामा अहिलेसम्म अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगेको छैन । नाम्खा गाउ‘पालिकाको लिमीस्थित तिल, हल्जी र जाङका तीन विद्यालय पनि अझै खुलेका छैनन् ।

केही समयअघि भएको हिमपातका कारण लिमी आउजाउ गर्ने बाटो बन्द भएपछि शिक्षक जान नसक्दा विद्यालय बन्द भएका हुन । तीनवटै बस्तीमा स्थानीय शिक्षक छैनन् ।
लिमीका विद्यालय ढिला खुल्ने भएकाले यहाँका विद्यालयले सधैंपाठ्यपुस्तकको अभाव खेपि रहनुपर्ने बाध्यता छ । पुस्तक लैजान ढुवानीको समस्याले पनि विद्यालयमा पुस्तक पुग्दैनन् । ढुवानी समस्याले शिक्षकले आफू हाजिर हुन जाने समयमा पुस्तक साथैमा लिने गरेका छन् ।

शिक्षकले गाउँ जाँदा साथै लगेका सीमित पुस्तकबाट नै काम चलाउनु पर्ने बाध्यता भएको शिक्षक राजबहादुर ऐडीले बताए । ऐडीका अनुसार लिमीका बासिन्दा विना काममा सदरमुकाम आउजाउ गर्दैनन् । विकासको रकमसम्बन्धी काम गर्नपरे जेठपछि आउँछन् । पुस्तक बिक्रेताले सिमकोटमा मात्र बिक्री गर्ने भएकाले लिमीमा पुस्तक पुग्न कठिन हुन्छ । एक पटक हेलिकप्टरबाट हिल्सामा पुर्‍याएका पुस्तक पनि लिमीका बासिन्दाले विद्यालयसम्म लैजान मान्दैनन् ।

वर्षेवाली थन्क्याएपछि गाउ‘मा बैठक गरी नयॉ व्यवस्थासहितको नियम बनाएर हिँड्न सक्ने स्थानीयले गाउँ छोड्ने गर्छन । स्थानीय ल्होचवु तामाङका अनुसार गाउ‘मा हिँड्न नसक्ने वृद्धवृद्धा र गुम्बाका पुजारी मात्र रहन्छन् । घरमा रहनेका लागि छ महिना पुग्ने खानपिनका सामग्री र दाउराको व्यवस्था पहिले नै गरिन्छ ।

प्रतिक्रिया