फागुन २६, २०७४
गोरखा : गोरखामा १७ दिनसम्म सञ्चालन गर्नुपर्ने दुईवटा तालिम घरेलु तथा साना उद्योग विकास समितिले तीन दिनमा सम्पन्न गरि १७ दिनकै भत्ता बाडेका छ । गाउँपालिकाकी उपप्रमुख कुमारि गुरुङका अनुसार चुमनुब्री गाउँपालिका- ३ सिर्दिबासमा फरक फरक मितिमा हुनुपर्ने दुईवटा तालिम बुधबारदेखि सुरु गरेर शुक्रबार सम्पन्न गरिएको हो । ‘उद्यमशीलताको तालिम १० दिनको र होटल व्यवस्थापनको सात दिनको तालिम एकै मितिमा एकै ठाउँमा सिध्याइयो’, उनले भनिन्, ‘गाउँलेलाई फकाएर भत्ता भने १७ दिनकै दिएर तालिम सम्पन्न भयो भनेर हिँडियो।’ उद्यमशीलता विकासको तालिम फागुन १६ गतेदेखि सुरु गरेर २५ गते सम्पन्न गरिएको प्रमाणपत्रमा उल्लेख छ। तयसै गरि २० जना उपस्थित रहेको होटल व्यवस्थापन तालिम १९ गतेदेखि २५ गतेसम्म सञ्चालन गरिएको उल्लेख गरेर तीन दिनमै सम्पन्न गरियो। तालिममा सहभागी हुनेलाई दैनिक १०० रुपैयाँका दरले भत्ता पनि दिइएको उनले शिक्षा खबरलाई जानकारी दिइन्। प्रशिक्षक अजय यादवले १७ दिन लगाएर सिकाउनुपर्ने दुई अलगअलग तालिम तीन दिनमै सम्पन्न गरेका हुन् भने घरेलु तथा साना उद्योग विकास समितिका कमलप्रसाद महतो कार्यक्रमस्थलमा नपुगी माछाखोलाबाटै फर्केको स्रोतले जानकारी दियो। सहभागीलाई दिन तयार गरेको प्रमाणपत्रमा समेत अरू कसैको नाम भए पनि टिपेक्स लगाएर महतोकै हस्तार भने गरिएको गुरुङले जानकारी दिइन्। सिर्दीबास पुग्न गोरखा सदरमुकामदेखि तीन दिनको पैदल यात्रा गर्नु पर्ने ठाउँ हो।