काठमाडौं २७ फागुन / सन् २०१७–१८ का लागि भारत सरकारको प्रतिष्ठित स्वर्णजयन्ती छात्रवृत्ति कार्यक्रममा दुई सय नेपाली विद्यार्थी छानिएका छन् । उनीहरूलाई नेपालकै विश्वविद्यालय र क्याम्पसमा एमबिबिएस, बिई, बिएससी, बिए, बिएड, बिबिएलगायत अन्य विषयमा स्नातक तहको पढाइका लागि भारत सरकारले आर्थिक सहयोग गर्ने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
भारत सरकारले सन् २००२ मा योग्य नेपाली विद्यार्थीका लागि स्वर्णजयन्ती छात्रवृत्ति कार्यक्रमको सुरुवात गरेको थियो । सुरुवातमा ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । सन् २००७ मा छात्रवृत्तिको संख्या वृद्धि गरी एक सय पु¥याइएको थियो । सन् २०१२ देखि यसको संख्या दोब्बर बनाइएको दूतावासले जनाएको छ ।
छात्रवृत्ति कार्यक्रमअन्तर्गत एमबिबिएसका एक विद्यार्थीले प्रतिमहिना चार हजार रुपैयाँका दरले पाँच वर्षसम्म, बिईको एक विद्यार्थीले प्रतिमहिना चार हजार रुपैयाँका दरले चार वर्षसम्म र स्नातक तहका अन्य संकायमा अध्ययनरत एक विद्यार्थीले प्रतिमहिना तीन हजार रुपैयाँका दरले तीन वर्षसम्म सहयोग प्राप्त गर्नेछन् । अहिलेसम्म नेपालका ७७ जिल्लाका २१५० भन्दा बढी विद्यार्थी स्वर्णजयन्ती छात्रवृति कार्यक्रमबाट लाभान्वित भएको भारतीय दूतावासका द्वितीय सचिव एवं प्रवक्ता रुबिजसप्रित शर्माले जानकारी दिइन् ।
शुक्रबार भारतीय दूतावासले यस वर्ष छानिएका दुई सय नेपाली विद्यार्थीलाई बधाई ज्ञापन गर्दै स्वर्णजयन्ती छात्रवृत्तिका लागि योग्यताको प्रमाणपत्र प्रदान गरेको छ । परराष्ट्र सचिव शंकरदास बैरागी र भारतीय राजदूत मञ्जिबसिंह पुरीको सहभागितामा विद्यार्थीलाई प्रमाणपत्र दिइएको थियो । भारतले योसहित नेपाल र भारतका विभिन्न विश्वविद्यालयमा चिकित्सा, विज्ञान, कृषि, कला, पशु विज्ञान, औषधि निर्माण विज्ञान, कम्प्युटर विज्ञान तथा नर्सिङ विषयमा अध्ययन गर्न बर्सेनि तीन हजारलाई छात्रवृत्ति दिँदै आएको छ ।