काठमाडौं ३० फागुन / आमसञ्चार र पत्रकारिता विषयमा कतिपय शिक्षकले पूर्णाङ्कभन्दा बढी अङ्क दिने गरेको पाइएको छ । कक्षा ११ र १२ मा आमसञ्चार विषय पढाउने शिक्षकका लागि मङ्गलबार आयोजना गरिएको ‘प्रयोगात्मक परीक्षासम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीहरूले सो विषयमा २० पूर्णाङ्कको प्रयोगात्मक परीक्षामा विद्यार्थीलाई २५ नम्बर दिएर पठाएको तथ्य प्रस्तुत गर्नुभयो ।
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कक्षा ११ र १२ मा आमसञ्चार र पत्रकारिता विषय लिई अध्ययन गर्ने विद्यार्थीलाई प्रदान गरिने प्रयोगात्मक परीक्षाको नम्बर विश्वसनीय हुनुपर्ने बताउनुभएको छ । उहाँले परीक्षा प्रणालीलाई त्रुटिरहित बनाउन सबैको सहयोग आवश्यक छ भन्नुभयो ।
उहाँले बोर्डका प्रशासनिक र परीक्षासम्बन्धी कार्यक्रमलाई आधुनिकीकरण गरी अनलाइन प्रविधिमा लैजाने प्रयास भइरहेको जानकारी दिँँदै प्रश्नपत्र तयार गर्ने प्रणालीलाई पनि आधुनिकीकरण गरिने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड काठमाडौँका निर्देशक जङ्गबहादुर अर्यालले प्रयोगात्मक परीक्षाको नम्बर पठाउँदा धेरै त्रुटि पाइएकाले बोर्डले तोकेको फर्म र प्रक्रियाअनुसार समयमै नम्बर पठाउन शिक्षकसँग आग्रह गर्नुभयो ।
गोरखापत्रबाट