काठमाडौं ४ चैत / कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस ९ महिनादेखि निमित्त प्रमुखमा सञ्चालन भइरहेको छ । निमित्तको जिम्मेवारी छोटो अवधिका लागि दिइने चलन छ । तर ९ महिनादेखि निमित्तका भरमा चल्दै आएको यो क्याम्पसमा फेरि तीन महिनाका लागि निमित्तकै जिम्मेवारी थप गरिएको छ।
योग्यता र कार्यक्षमताका आधारमा वरिष्ठलाई पूर्णकालीन जिम्मेवारी दिनुको सट्टा त्रिवि उपकुलपति तीर्थ खनियाँले निमित्तका भरमा सञ्चालन गर्दा क्याम्पस लथालिंग भएको छ । विगत ९ महिनादेखि देवबहादुर रोका निमित्त क्याम्पस प्रमुख थिए । फागुन २७ गते उनको म्याद सकिएपछि अहिले शिवमंगल साहले तीन महिनाका लागि निमित्तको जिम्मेवारी पाएका छन्।
आयुर्वेद कलेज त्रिविको स्वायत्त शैक्षिक संस्था हो। त्रिवि स्वायत्ततासम्बन्धी नियम २०६२ को व्यवस्थाअनुसार कलेज सञ्चालक समितिले तीन सदस्यीय ‘सर्च समिति’ गठन गरी तीनजनाको नाम त्रिवि कार्यकारी समितिमा पठाउनुपर्ने र तीमध्येबाट कार्यकारीले एकजनालाई कलेज प्रमुख नियुक्त गर्नुपर्दछ।
विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत रहेको आयुर्वेद कलेज ‘ग’ वर्गमा पर्दछ। कलेजका प्राध्यापक रितिश झाले स्वायत्ततासम्बन्धी नियमअनुसार प्रमुख नियुक्ति गर्दा कलेजमा कार्यरत प्राध्यापकमध्ये वरीयताका आधारमा प्राध्यापक वा सहप्राध्यापकमध्ये नियुक्ति गर्नुपर्ने प्रावधान रहेको जानकारी दिए । कलेज सञ्चालक समिति सदस्यसमेत रहेका झाका अनुसार समितिले तीनजनाको नाम पठाए पनि उपकुलपतिले आफूखुसी निमित्त प्रमुख नियुक्त गरेको बताए।
सञ्चालक समितिबाट सिफारिस कार्यकारी परिषद्ले नियुक्त गरेको प्रमुखको कार्यकाल चार वर्षको हुन्छ। उनका अनुसार सर्च समितिले चन्द्रराज सापकोटा र रितेश झालाई सिफारिस गरेको थियो।
आयुर्वेद क्याम्पस पनि राजनीतिक भागभन्डाका आधारमा सञ्चालन हुँदै आएको छ। यसअघि पूर्णकार्यकाल र निमित्तसमेत पाएका रोका माओवादी कोटामा क्याम्पस प्रमुख बनेका थिए। डा. रोकाले आफू माओवादी कोटामै प्रमुख भई चार वर्ष चलाएको र कार्यकाल सकिँदासम्म माओवादीनिकटका वरिष्ठ नपाएपछि पुनः आफूलाई नै प्रमुखमा नियुक्त गरिएको स्वीकार गरे।
हाल निमित्तको जिम्मेवारी पाएका साह सापकोटा र झाका विद्यार्थी हुन्। पूर्वप्रमुख डा.रोकाले आयुर्वेद कलेज माओवादीको पोल्टामा परेको तर अहिले कलेजमा माओवादीका कोही वरिष्ठ नभएको बताए। उनले जुनियरलाई नियुक्ति दिएर त्रिवि प्रशासनले गलत गरेको बताए। उनको नियुक्तिविरुद्ध स्ववियु, नेविसंघ एकाइ समिति र प्राध्यापकहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन्।
स्ववियुका कार्यवाहक अध्यक्ष प्रशान्त बस्नेतले कनिष्ठ प्राध्यापकलाई निमित्तमा नियुक्ति गरेदेखि कक्षा नियमित हुन छाडेको बताए । कलेजमा कुल एक सय ७० विद्यार्थी छन् । स्ववियु अध्यक्ष बस्नेतले चरम राजनीतिका कारण क्याम्पसको शिक्षण अस्पताल लथालिंग भएको बताए।
त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले विश्वविद्यालयले करारमा रहेका प्राध्यापकलाई प्रमुखमा नियुक्त गर्न सक्ने बताउँदै नियमअनुसार नै साहलाई निमित्त दिइएको बताए।