बिहीबारबाट शुरु भएको एसइईको परीक्षाको पहिलो दिनकै परीक्षाको प्रश्नपत्रमा गल्ती भेटिएको छ । अंग्रेजी विषयको परीक्षामा प्रश्न नम्बर तीनको ‘ए’ का प्रश्नपत्र छपाइमा गल्ती भएका कारण विद्यार्थी अलमलमा परे । खालि ठाउँ भर भन्ने हुनुपर्नेमा ठीक-बेठीक छुट्टाउ भनेर प्रश्न सोधिएको थियो । ५ नम्बरको यस प्रश्नले विद्यार्थीहरु अलमलमा परेका थिए । ५ वटा खाली ठाउँ भर्न प्रश्न सोधिएको थियो । बुटवलस्थित कालिका उच्च माविका प्राचार्य घनश्याम पाठकले आफूहरुले जाँच शुरु भए लगत्तै गल्ती भेटिएकाले विद्यार्थीहरुलाई सच्चाएर परीक्षा दिन लगाएको बताए ।\
‘प्रश्नपत्र वितरण भए लगत्तै हेर्दा प्रश्नपत्रमा गल्ती देखियो, त्यसले विद्यार्थीमा अलमलकोस्थिती देखियो । तत्काल परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्दा फोन लाग्दै लागेन, हामीले फोन सम्पर्क नभएपनि सच्चाएर लेख्न सबै विद्यार्थीलाई सुचना दियौँ’, उनले नयाँ पत्रिकासँग भने, ‘तर दुर्गम ठाउँका विद्यार्थी, जहाँ गल्ती भेटाउन सकेनन् त्यस्ता ठाउँका विद्यार्थी मर्कामा परेका हुन सक्छन् ।’
प्राचाय पाठकका अनुसार जाँच नसकिदै परीक्षा नियन्त्रण कार्यालयबाट नोटिस जारी भएको र सच्चाएर जाँच दिन लगाएको पाइएको थियो । पनिकाले जारी गरेको नोटिस सबै ठाउँमा पुग्न बिहीबार बिहान अवरुद्ध टेलिफोन सेवा बाधक बनेको थियो । बिहीबार विहानैदेखि टेलिफोन सेवा अवरुद्ध रहेको थियो । प्रचार्य पाठक पनिकाबाट त्यस किसिमको गल्ती हुन नहुनेमा जोड दिन्छन्, उनी भन्छन्– ‘हामी सुविधा सम्पन्न ठाउँमा थियौँ । त्यस्तै तत्काल गल्ती पनि भेटायौँ र सच्चाउन सम्भव भयो तर दुर्गममा यस्तो सच्चाउन गाह्रो हुन्छ ।’
कालिका उच्च माविका अंग्रेजी शिक्षक दामोदर पन्थीले बिहीबारको पहिलो दिनको अंग्रेजी विषयको प्रश्नप्रत्रमा अरु पनि गल्ती भेटिएको बताउँछन् । उनले प्रश्न नम्वर ४ ए को जोडा मिलाउनेमा पनि गल्ती भएको बताए ।
त्यस्तै प्रश्न नम्वर ९ को सि मा पनि प्रश्न अलमलिने खालको रहेको शिक्षक बताउँछन् । यता अभिभावकहरु यस्ता अलमलिने प्रश्नका कारण विद्यार्थीहरु मर्कामा पर्ने भन्दै गल्ती भएका प्रश्नको उत्तरपुस्तीका जाँच गर्दा उपयुक्त नम्वर दिनुपर्ने तर्क गर्छन् ।