काठमाडौं– प्रतिनिधिसभाको आज बसेको संसदको बैठकले चिकित्सा शिक्षा अध्यादेश पारित गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पेश गरेको ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ बहुमतले पारित भएको हो। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको फरक मत अस्वीकृत भएको छ।
यस अध्यादेशमा रहेका कमीकमजोरी प्रतिस्थापन विधेयकमार्फत पारित गर्ने गरी अध्यादेश पास भएको हो। मंगलबार नै बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिस्थापन विधेयक ल्याउने निर्णयसमेत गरिसकेको छ ।
सांसद प्रेम सुवालले अध्यादेशमा काठमाडौं उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नदिने, निजी मेडिकल कलेज खारेज हुनुपर्ने, एमबिबिएसका लागि ३ सय शय्या र नर्सिङमा पनि एक सय शय्या हुने, ५ भन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाउने लगायतका विषयमा फरक मत राखेका थिए।
शिक्षामन्त्री पोखरेलले अध्यादेशमा भएका कमजोरी प्रतिस्थापन विधेयकमा सच्याउने सकिने भन्दै पास गर्न प्रस्ताव गरेका थिए। उक्त अध्यादेश निकै ठूलो बहस पछि ल्याइएको बताउँदै उनले थप व्यवस्थित बनाउन सकिने विचार राखेका थिए।