विद्यार्थी भर्ना महाअभियान जारी
शिक्षाखबर डेस्क
२ बैशाख २०७५, आईतवार
no immg

वैशाख २, २०७५ – विद्यार्थी भर्ना महाअभियान अन्तर्गत सरकारले विद्यालय जान छुटेका बालबालिकालाई मुलुकभरका सरकारी तथा सामुदायिक विद्यालयमा आजदेखि भर्ना गराउँदैछ । यसअघि हिजै प्रधानमन्त्री केपी ओलीले मुगुबाट अभियानको औपचारिक उद्घाटन गर्नुभएको थियो । हिजो शनिबार परेकाले आजबाट सरकारी कर्मचारी र शिक्षकहरु घरदैलोमै पुगेर भर्नाका लागि आह्वान गर्ने र विद्यालय पोशाक उपलब्ध गराइने शिक्षा विभागले जनाएको छ । शिक्षा विभागले यस पटक हामी सबैका इच्छा, अनिवार्य निस्शुल्क आधारभूत शिक्षा भन्ने नारा तय गरेको छ । विपन्नताका कारण विद्यालयमा जान नपाएका बालबालिकालाई लक्षित गरि भर्ना अभियान सुरु गरिएको विभागले जनाएको छ । पछिल्लो तथ्याङ्कअनुसार प्राथमिक उमेर समूहको भर्ना दर ९७ दशमलव २ प्रतिशत र कक्षा १ देखि ८ सम्मको आधारभूत तहको खुद भर्ना दर ९२ दशमलव ३ प्रतिशत छ । यसवर्ष दुबै उमेर समूहको भर्ना दर शतप्रतिशत पुर्‍याउने लक्ष्य सरकारको छ । शिक्षा विभागका अनुसार आधारभूत तहमा सबैभन्दा बढी सर्लाही, धनुषा, रौतहट, पर्सा, बारा, कपिलवस्तु, मोरङ, सुनसरी, रूपन्देही, सप्तरी, सिरहा, महोत्तरी र बाँकेका बालबालिका विद्यालयभन्दा बाहिर छन् । शैक्षिक सत्र २०६१ बाट शुरु भएको भर्ना अभियानमा हरेक बर्ष औसतमा प्रतिवर्ष डेढ प्रतिशतका दरले खुद भर्ना दरमा सुधार आए पनि विद्यार्थीको आकर्षण भने घट्दो छ ।

प्रतिक्रिया