राजनीति भन्दा कागती नै राम्राे
शिक्षाखबर डेस्क
५ बैशाख २०७५, बुधबार
no immg

काठमाडाैं  । ५ बैशाख – धनकुटाको साँगुरीगढी गाँउपालिका वडा नम्वर ८ बेगनाका  एक कृषकले चालिस रोपनी क्षेत्रफलमा कागती खेती सुरु गरेका छन् ।

राजनीतिबाट वाक्क भएका कृषक भीम बिक्रम लिम्बुले बर्षौँ अघि देखि बाँझो रहेको खेतमा कागती खेती सुरु गरेका हुन् ।

 

सरकारी जागीर, समाज सेवा हुँदै राजनीतिक यात्रामा होमिएका धनकुटाको साँगुरीगढी गाँउपालिका वडा नम्वर ८ बेगनाका ५२ बर्षिया भीम बिक्रम लिम्बु कागती खेती तर्फ आकर्षित भएका छन् । उनले आफ्नै गाउँमै चालिस रोपनी जग्गामा कागती खेती सुरु गरेका हुन् ।

२०६७ साल देखि कागती खेती सुरु गरेका लिम्बुले कश्स्मीरी, तेह्रथुमे, रिजालटासी गरी चार जातका एक हजार बोट कागती लगाएतका छन् । हाल करीब दुई सय बोटले मात्र उत्पादन दिदै आएका छन् ।

यी दुईसय बोट कागतीबाट मात्रै बार्षिक दुई लाख रुपैया आम्दानी हुने लिम्बुले बताए । एक हजार बोटले उत्पादन थालेपछि बार्षिक १२ देखि १५ लाख रुपैयाँ आम्दानी गर्ने लिम्बु बताउँछन् ।

२०५४ सालबाट तत्कालिन नेकपा माओवादीको राजनीतिमा होमिएका भिम विक्रम लिम्बु राजनीति चटक्कै छोडेर कागती खेती तर्फ लागेका हुन् । शिक्षण पेशामा हुँदा पूर्वमा लिम्बुवानको इतिहास खोजिमा लागेका लिम्बुले राजनीतिमा रहेको बेला आर्थिक समस्यामा परेपछि राजनीति छोडेर कृषि पेशा तर्फ आकषित भएको बताएका छन् ।

कागती खेतीलाई व्यावसायीक रुप दिन लागि परेका लिम्बुले हाल सम्म पाँच लाख रुपैयाँ खर्च गरी सकेका छन् । एउटै बोटले एक बर्षमा दश हजार रुपैयासम्म आम्दानी दिने तथा ८० बर्ष सम्म उत्पादन लिन सकिने उनको भनाई छ ।

कागती खेती व्यावस्थापनको लागि गाउँमै दैनिक ५ जनालाई रोजगार दिईरहेका छन् । नेपालमा भविश्य नदेख्नेहरुलाई मेहनत गरे नेपालमा नै केही गर्न सकिने उनको सुझाव छ ।

कागती खेती व्यावस्थापनको लागि सरकार तथा सम्बन्धित निकायले प्राविधिक सेवा, औषधि उपचार, उन्नत जातको विउबिजन, बिरुवा उपलब्ध भए आफु मात्र नभइ सबैलार्इ व्यावसायीक बनाउन सकिने उनको भनाई छ ।

जिल्ला कृषि बिकास कार्यालय धनकुटाको तथ्यांक अनुसार धनकुटामा बार्षिक २ सय ५५ हेक्टरमा ६ सय १० मेट्रिक टन कागती उत्पादन हुने गर्दछ ।

प्रतिक्रिया