काठमाडाैं । १४ बैशाख ,
भक्तपुरको चाँगुनारायणमा रहेको नेपाल इञ्जिनियरिङ कलेजमा विवाद देखिएको छ ।
कलेज सञ्चालकहरुका बीचमा नै कलेजको आर्थिक प्रशासनिक क्षेत्रमा अनियमितता भएको भन्दै विवाद चुलिएको हो । सञ्चालकहरुका बीचमा विवाद हुँदा अहिले कलेजको खातामा पैसा जम्मा हुन छोडेको छ भने शिक्षकहरुलाई तलब खुवाउन समेत समस्या देखिएको छ । सञ्चालकहरुका बीचको विवादका कारण अहिले अध्ययन गरिरहेका झण्डै २२ सय विद्यार्थीहरु अन्यौलमा परेका छन् ।
सामाजिक संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर सञ्चालन आएको कलेज गैर– मुनाफा मुलक संस्थाका रुपमा रहेको थियो । २०६० सालमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्तापछि नेपाल इञ्जिनियरिङ कलेज एक पटक पनि नविकरण भएको छैन् ।
कलेजका सञ्चालक मध्ये केहीले २०७४ सालमा कम्पनी रजिष्टारको कार्यालयमा विद्यालयलाई निजी कम्पनीका रुपमा दर्ता गरे पनि सञ्चालकहरु दुई कित्तामा विभाजित देखिएका हुन् ।
कम्पनी रजिष्टारको कार्यालयमा नेपाल इञ्जिनियरिङ कलेज प्रालिका नाममा दर्ता भएको इञ्जिनियरिङ कलेजको चल अचल सबै सम्पतिको स्वामित्व लिने वैधानिक व्यवस्था गरेपछि सञ्चालक मध्येका प्राध्यापक डाक्टर दीपकप्रसाद भट्टराई, हरि पाण्डे, सलिल भट्टराई र चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र निजी कम्पनीमा परिणत गर्न नदिने पक्षमा देखिए ।
तर दर्ताको समयका सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपाने, सुर्यबहादुर केसी, लबराज भट्टराई, रामरत्न उपाध्याय र डाक्टर उपेन्द्र गौतम निजी कम्पनीमा रुपान्तरण गर्ने तथा पोखरा विश्वविद्यालयसँगको सम्बन्ध तोडेर मध्यपश्चिम विश्वविद्यालयमा सम्बन्धन जोड्ने पक्षमा देखिएपछि विवाद सतहमा आएको थियो ।
क्याम्पसका सञ्चालक तथा चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले सञ्चालक समितिका अध्यक्ष न्यौपानेलगायतका सञ्चालकहरुले कलेजको खाता कब्जा गरेको तथा कलेजले सञ्चालन गरेका खाता समेत राष्ट्र बैंकका उपल्लो निकायका पदाधिकारीको शक्ति प्रयोग गरी बन्द गरेको बताउनुभयो ।
क्याम्पसका प्रशासनका अनुसार कलेजको खातामा जम्मा भएको र खाताबाट निकालिएको झण्डै ३३ करोड रुपैयाँको हिसाब कलेजसँग छैन् । अहिले कलेजलाई कम्पनीमा लैजाने पक्षधर सञ्चालकहरु कलेजमा उपस्थित हुँदैनन् । तर बाहिर नै बसेर कलेजको आर्थिक काम कारवाही सञ्चालनमा हस्तक्षेप गरेका कारण समस्या उत्पन्न भएको मिश्रको भनाई छ ।
कलेजलाई निजीकरण गरिएको भन्दै नेपाल बिद्यार्थी संघले आन्दोलन गरेपछि कम्पनी रजिष्टारको कार्यालयमा निजी कलेजको स्वामित्वका रुपमा दर्ता भएको कम्पनी खारेज भएको थियो ।
अहिले कम्पनी खारेज भए पनि कलेजलाई कम्पनीमा रुपान्तरण गर्ने समूहका सञ्चालकहरुका कारण कलेजमा समस्या सुरु भएको छ । नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालय समन्वय समितिले बिहीबार पत्रकार सम्मेलन गरी कलेजको समस्या सामधान गर्नुपर्नेमा जोड दिएका थिए ।
नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालय समन्वय समिति संयोजक एंव केन्द्रीय सदस्य नवराज त्रिपाठीले नेपाल इञ्जिनियरिङ कलेजलाई तत्काल नविकरण गर्नुपर्ने, सामुदायीक कलेजलाई नविकरण गर्ने सञ्चालकहरुलाई बर्खास्त गर्नुपर्ने, सञ्चालकहरुले बाँडेको मुनाफा फिर्ता गर्नुपर्ने, विद्यार्थी संगठनलाई वितरण गर्ने भनि सञ्चालक समितिका सदस्यहरुले हिनामिना गरेको ८ करोड पच्चिस लाख रुपैयाँको हिसाब पारदर्शी बनाउनुपर्ने, कलेजलाई पोखरा विश्वविद्यालयको आंगिक क्याम्पस बनाउनुपर्ने, शुल्क पोखरा विश्वविद्यालयको आंगिक क्याम्पस सरह बनाइनुपर्ने लगायतका माग राखेर आन्दोलन थालेको जानकारी दिनुभयो ।
कलेजका सञ्चालक समितिका बहुमत सदस्यहरुले विद्यार्थी संगठनले बन्द हडताल, तथा पैसाको बार्गेनिङ गर्ने भएकाले विद्यार्थी संगठनलाई दिनका लागि भन्दै २०७० साल माघ १८ गतेको बैठकले वार्षिक एक करोड ५० लाख रुपैयाँ बील भरपाई देखाउनु नपर्ने गरी पैसा बाँड्ने गरी त्यो रकम सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेलाई दिने निर्णय भएको थियो ।
कलेज सञ्चालक समितिको यो निर्णयमा नेपाल विद्यार्थी संघले गम्भीर आपत्ति जनाएको छ । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य त्रिपाठीले त्यो रकमको हिसाब पारदर्शी हुनुपर्ने बताउदै विद्यार्थी संगठनलाई बदनाम गराउन खोजेको बताउनुभयो ।
बहुमत सदस्यहरुको निर्णयद्वारा गैरनाफामुलुक संस्थाका रुपमा सञ्चालनमा रहेको कलेजबाट २०७३ साल फागुन २० गतेको सञ्चालक समितिको बैठकको निर्णयद्वारा प्रत्येक सञ्चालकलाई एक करोड पचास लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरेको थियो । तर त्यो रकम सञ्चालक मध्येका हरिप्रसाद पाण्डे र सलिल भट्टराईले भने लिएका थिएनन् । अन्य सञ्चालकले भने त्यो रकम लिएको कलेज प्रशासनले जनाएको छ ।
नेविसंघले आफ्ना माग पूरा गरेर कलेजलाई पारदर्शी रुपमा सञ्चालन नगरे चरणबद्ध रुपमा आन्दोलन घोषणा गर्ने जनाएको छ । संघले वैशाख १९ गते पोखरा विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापन पत्र बुझाउने, १९ गते नै भक्तपुर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने, २० गते नेपाल इञ्जिनियरिङ कलेज प्रालि दर्ता गर्ने कम्पनी रजिष्टार कार्यालयका तत्कालिन सहायक रजिष्टार, क्याम्पस सञ्चालकहरुका विरुद्ध अख्तियारको मुद्दा दर्ता गर्ने, २० गते नै शिक्षा मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, २१ गते गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने जनाएको छ ।
त्यसपछि पनि कलेजको समस्या समाधान नभए कलेजमा उपस्थित नहुने सञ्चालक समितिका सदस्यहरुको घर घरमा सामाजिक बहिष्कारको आन्दोलनसहित धर्ना दिने नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य त्रिपाठीले जानकारी दिनुभयो ।