• बिज्ञान प्रबिधि

    प्रविधिमैत्री सेवा प्रवाहका लागि अभिमुखीकरण

    ८ जेष्ठ २०७५, मंगलवार

    काठमाडाैं । ८ जेठ 

    गृह मन्त्रालयको आयोजनामा सरकारी तवरबाट गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ सोमबारदेखि पोखरामा चार दिवसीय सूचना तथा प्रविधि अभिमुखीकरण तालिम शुरु भएको छ ।

    समयसापेक्षरुपमा सेवाको गुणस्तरीयताका साथै छिटोछरितो जनमुखी प्रशासन कायम गराउने लक्षका साथ आयोजित अभिमुखीकरणमा प्रदेश नं ४ का मन्त्रालयअन्तर्गतका कम्प्यूटर सेवातर्पm ३० जना कर्मचारीको सहभागिता रहेको छ ।

    अभिमुखीकरणको शुभारम्भ कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले वर्तमान युग सूचना प्रविधिको युग भएको बताउँदै दक्षता अभिवृद्धि बिना प्रभावकारी सेवा प्रभाव गर्न नसकिने बताउनुभयो ।

    सूचना तथा प्रविधि शाखाका उपसचिव शम्भुप्रसाद मरासिनीले अभिमुखीकरणका क्रममा सेवा प्रवाह गर्दा आइपर्ने व्यावहारिक समस्याका साथै विविध पक्षमा जानकारी गराइने बताउनुभयो ।

    उपक्षेत्रीय प्रशासक गिरीधारी सुवेदीले अभिमुखीकरण तालीममा सिकेका विषयलाई सहभागीले व्यवहारमा उतार्दै सेवाग्राहीको विश्वास जित्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा शम्भुप्रसाद मरासिनी, टीकाराम दाहाल, सुवास घिमिरे, पुरुषोत्तम पौडेल, लक्ष्मणकिरण थापा, अमुल पराजुली, सन्तोष सिग्देल, लिलाबहादुर मगरले सूचना प्रविधिका विभिन्न पक्षमा तालीम दिनुहुनेछ ।

    साभार- रासस