काठमाडाैं । ११ जेठ
प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो शिक्षा गुलाबको फूलजस्तो हुनुपर्ने बताएका छन् । बिहीबार राजधानीको भृकुटी मण्डपमा सुरु भएको ‘कान्तिपुर हिसान शिक्षा मेला’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘मरुभूमि देश इजरायलमा गुलाबको फूल फुलाएर १४ फेब्रुअरी भ्यालेनटाइनका दिन युरोप र अमेरिकाका बजारहरुमा पठाएर अर्बौ रुपैयाँ आर्जन गर्छन् । त्यस्तैगरी हाम्रो शिक्षा पनि गुलाबको फूलजस्तै विश्व बजारमा बिक्ने खालको हुनुप¥यो ।’
प्रधानमन्त्री ओलीले कार्यक्रममा समाज सुधार्न, मान्छेको आचरण सुधार्न, मान्छेलाई मान्छे बनाउन र परोपकारी बनाउन शिक्षाको महत्वपूर्ण योगदान रहेको हुनाले आजको शिक्षा त्यतातिर उन्मुख हुनुपर्नेमा जोड दिए । मान्छेलाई देशको सम्पती लुटेर आफ्नो बनाउने, ठगी खाने र नकरात्मक विचारधारा भएका मान्छेलाई गरी खाने सोचमा परिवर्तन गर्न नै आजको आवश्कता रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
सन्दीपले चमत्कार गरेको भन्दै ओलीले भने, ‘दुई चार डल्ला के फ्याँक्न पाएको थियो, सन्दीप लामिछाने चम्कियो, दुनियाँ हन्टिङ गरिरहोस्, हामी सन्दीप लामिछाने उत्पादन गरिरहन्छौँ ।’
साथै ओलीले शिक्षा क्षेत्रबाट लगानीअनुसार प्रतिफल आउन नसकेको धारणा राखे । व्यवस्थापकीय कमजोरी र गुणस्तरीय शिक्षामा ध्यान दिन नसक्दा शिक्षा क्षेत्रमा धेरै लगानी भए पनि राम्रो प्रतिफल प्राप्त हुन नसकेको उनको भनाइ छ ।“निजी शैक्षिक संस्थाको शिक्षामा योगदान छ भन्दैमा उनीहरुले जथाभावी शुल्क लिन पाउँदैन,” ओलीको भनाइ थियो – “निजी शिक्षण संस्था नोक्सानमा जानुस् भनेर भनेको होइन । धेरै नाफा नखोज्नुस् भनेको हुँ ।”
जीवन खोज्न नेपाली युवाहरु इजरायल जानुपरेको बताउँदै उनले भने, ‘जहाँ उडुस–उपियाँ समेत नबाँच्ने मरुभूमिमा जीवन खोजिरहेका छन् । हाम्रो जस्तो उर्वर कृषिप्रधान देशमा के हुँदैन । माटो नै सुनको टुक्रा हो । यहाँ के फल्दैन ? के उब्जनी हुँदैन । तर, त्यसका लागि स्वदेशमै काम गर्ने, आत्मनिर्भर बन्ने र स्वरोजगार बन्ने पर्ने काममा लाग्नुपर्छ ।’
उनले नेपालमा शैक्षिक प्रमाण पत्र नै आफै पीडाको विषय बनेको पनि बताए । प्रधानमन्त्री ओलीले भने, ‘पढ्दा पनि ऋण लाग्ने, जागीर खोज्दा पनि ऋण लाग्ने । यो कस्तो विडम्बना हो । त्यसैले जीवनलाई सरल र सहज बनाउन रोजगारमुखी शिक्षा अबलम्बन गर्न जरुरी छ ।’
प्रधानमन्त्री ओलीले एक प्रशंगमा इजरायलको सन्दर्भ कोट्याउँदै त्यहाँका दुई प्रतिशत जनता मात्र आुधनिक कृषिमा संलग्न रहेको बताए । ‘त्यही दुई प्रतिशतले उत्पादन गरेका वस्तुले आत्मनिर्भर हुँदै विश्वबजार पुर्याएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो देश नेपालमा भने ७० प्रतिशत जनता कृषिमा आवद्ध छन् । तर, हामी आत्मनिर्भर हुन सकिरहेका छैनौ । त्यसैले हामी आधुनिक खेतीतर्फ लाग्न जरुरी छ ।’
साथै, प्रधानमन्त्री ओलीले अहिलेको सरकार, जनताको सरकार भएको बताउँदै भने, ‘सरकारले लोकप्रिय काम गर्दैन । तर, हामीले गरेका काम सबै आफै लोकप्रिय हुन्छन् ।’