स्वस्थानीमा विद्यावारिधि गर्नेलार्इ जेसिकाको सम्मान
शिक्षाखबर डेस्क
१८ असार २०७५, सोमबार
no immg

काठमाडाैं ।

वैदिक सनातन धर्मका १८ पुराणमध्येको स्कन्दबाट लिइएको स्वस्थानी व्रत कथाका विषयमा विद्यावारिधि शोध गरी पुस्तक प्रकाशन गर्नुभएकी जेसिका भान्टाईन बीर्केन्होल्ट्जलाई आज यहाँ सम्मान गरियो ।

माघ महिनामा नेपालीले घरघरमा वाचन गर्ने स्वस्थानी व्रतकथाका बारेमा उहाँले समालोचनात्मक कोणले तयार पार्नुभएको शोधपत्रलाई पुस्तकका रुपमा प्रकाशन गर्नुभएको हो । पुस्तक अक्सफोर्ड विश्वविद्यालय प्रेसले छापेको हो । शालीनदीमा एक महिनासम्म लाग्ने मेलाका बारेमा समेत पुस्तकमा उल्लेख गरी साँखुलाई विश्वमा चिनाएको भन्दै जेसिकालाई शंखरापुर नगरपालिकाले सम्मान गरेको हो ।

उहाँले २२ वर्ष अघि स्वस्थानी व्रतकथाका विषयमा शोध शुरु गर्नुभएको थियो । पाँच वर्षअघि यही शोधका कारण जेसिकाले विद्यावारिधि उपाधि पाउनुभएको थियो ।

विद्यावारिधि शोधका लागि उहाँ पाँचपटक नेपाल आएर एक वर्षभन्दा बढी समय बिताउनुभयो । स्वस्थानी व्रतकथाका बारेमा अन्य देशबाट प्रकाशन भएका किताबका बारेमा समेत जेसिकाले पुस्तकमा उल्लेख गर्नुभएको छ । रिसाइटिङ द गडेस (देवीको प्रार्थना) नामक उक्त पुस्तक दुई वर्ष अगाडि अक्सफोर्ड युनिभर्सिटी पे्रसबाट प्रकाशन भएको हो ।

यो पुस्तक हस्तान्तरण गर्न हालै उहाँ नेपाल आउनुभएको हो । शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले उहाँलाई सम्मान गर्नुभयो । उक्त पुस्तकलाई नेपाली भाषामा समेत अनुवाद गरिने कार्यक्रमका अवसरमा जानकारी गराइयो । हाल उहाँ अमेरिकाकै इलिनोइस विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ ।

प्रतिक्रिया