नेपाल विद्यार्थी संघले मानवअधिकार उल्लंघन र जघन्य अपराधका घटनामा संलग्न अपराधीलाई आममाफी दिन सरकार क्रियाशील देखिएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।
नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा बुधबार आयोगमा पुगेको टोलीले अध्यक्ष अनुपराज शर्मालाई ध्यानाकर्षणपत्र बुझाएको हो । सोक्रममा महरले मानवअधिकारको क्षेत्रमा विकसित भएका घटनाक्रमलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका थिए ।
ध्यानाकर्षणपत्रमा न्याय प्राप्तिका लागि वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारी र समग्र स्वास्थ्य सुधारका लागि जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदासम्म पनि सरकारले आनाकानी गरेको भन्दै सचेत गराउन आग्रह गरिएको छ ।
निषेधित क्षेत्र तोडियो
बुधबार नै नेविसंघले माइतीघर मण्डलामा सरकारले जारी गरेको निषेधित क्षेत्रको आदेश तोडेको छ । कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वमा पुगेको युवा विद्यार्थी समूहले निषेधित क्षेत्र तोडेको हो । कडा सुरक्षा व्यवस्थाका बाबजुद पनि निषेधित क्षेत्र तोडिएको केन्द्रीय सदस्य पौडेलले बताए ।
शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संविधानप्रदत्त अधिकारको ठाडो उल्लंघन गर्दै निषेधित क्षेत्र तोकेर सरकार अधिनायकवादतर्फ उन्मुख भएको पौडेलको आरोप छ । सरकारको ज्यादतीविरुद्ध कांग्रेसले अब देशव्यापी संघर्ष चर्काउने पौडेलको भनाइ छ ।
निषेधित क्षेत्र तोड्नेक्रममा नेविसंघआबद्ध विद्यार्थीले सरकारविरुद्ध चर्का नारा लगाएका थिए । प्रदर्शनका क्रममा प्रहरीले धरपकडसमेत गरेको थियो । प्रहरी धरपकडमा नीरञ्जन थापा, अर्वत खड्कालगायत विद्यार्थी घाइते भएका छन् ।