काठमाडौं २६ असार / सरकारले शिक्षाका झण्डै आधा दर्जन नियुक्ती बदर गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष, सदस्य सचिव, तीन सदस्य र युनेस्कोका निमित्त नेपाल आयोेगका सहायक महासचिवको नियुक्ती बदर गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शिक्षा मन्त्रालयलाई तत्काल ती नियुक्ती बदर गर्न निर्देशन दिएको छ । मुख्य सचिव लोकदर्शन रेग्मीले तत्कालिन शिक्षामन्त्री गोपालमान श्रेष्ठले नियुक्ती गरेका सबै नियुक्ती बदर गर्न निर्देशन दिनुभएको हो । मन्त्रालयले अघिल्लो सरकारले नियुक्त गरेको सबैलाई पत्र दिने तयारी गरेपनि पत्र भने तयार भइनसकेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रिपरिषदको गत बुधबार बसेको बैठकले निर्वाचन आचारसंहिता लागू भइसकेपछि शेरबहादुर देउवा सरकारको बहिर्गमन हुनु अघिल्लो दिनसम्मका नियुक्ति खारेज गर्ने निर्णय गरेपछि शिक्षा मन्त्रालय अन्तर्गत भएका नियुक्ती बदर हुने भएका हुन ।
मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयको पत्र प्राप्त भए लगत्तै शिक्षा मन्त्रालयले सबैलाई पत्र थमाएर बिदा दिने तयारी गरेको छ ।
नियुक्ती बदर हुनेमा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेल, सदस्य सचिव दुर्गा अर्याल, विज्ञहरुको तर्फबाट बोर्ड सदस्यमा नियुक्ती हुनुभएका दयामान कर्माचार्य, अमुदा श्रेष्ठ र भुमा पाण्डे , युनेस्कोका विष्णुबहादुर द्धारे रहेका छन् । बोर्डका सदस्यमा ५ जना मानोनित भएका थिए । तत्कालिन शिक्षामन्त्री धनिराम पौडेलको कार्यकालमा नियुक्तीपाएका निजी विद्यालयका सजनी जोशी र युवराज पराजुलीको पद भने जोगिने भएको छ । बोर्डमा नियुक्ती भएका तीन विज्ञ तत्कालिन शिक्षा मन्त्री गोपालमान श्रेष्ठले नियुक्ती गर्नुभएको हो ।
नियुक्ती बदर गर्न लागेका मध्य बोर्डका अध्यक्ष पौडललाई लोकसेवा आयोगका अध्यक्ष संयोजक रहेको सर्च कमिटीले २०७४ साउन १६ मा बोर्डको अध्यक्षमा सिफारिस गरेको थियो ।
सदस्य सचिव अर्याललाई अघिल्लो कार्यकालका शिक्षामन्त्री गोपालमान श्रेष्ठले नियुक्ती गर्नुभएको थियो । शिक्षा मन्त्रालयले मन्त्रालयका सहसचिवलाई सदस्य सचिव बनाउने तयारी गरिरहेकै बेला मन्त्री श्रेष्ठले अर्याललाई जिम्मेवारी दिनुभएको थियो ।
सर्च कमिटिले प्राडा पौडेल एक्लैको नाम अध्यक्ष बन्न सिफारिस गरेको थियो । सिफारिसमा परेका पौडेललाई मन्त्री श्रेष्ठले नियुक्ती गर्न ढिलाई गर्नुभएको थियो । चौतर्फी दवाव पछि आचारसंहिता लागु भएकै बेला २०७४ असोज २३ पौडेललाई अध्यक्षमा नियुक्त गर्नुभएको थियो ।
बोर्ड अध्यक्षका लागि १३ जनाले आवेदन दिएका थिए । अध्यक्ष र सदस्य सचिवको पद बदर हुने भएपछि हिजो सोमबार दिनभर बोर्ड अध्यक्ष पौडेल र सदस्य सचिव निरास हुदै पत्रको प्रतिक्षामा बस्नुभएको थियो ।
अध्यक्ष पौडेलले लोकसेवाको सिफारिसमा नियुक्ती भएको कारण आफ्नो नियुक्ती बदर नहुने दावी गर्दै आउनुभएको थियो । बोर्डको प्रशासन महाशाखाका प्रमुख अर्याललाई भने मन्त्री श्रेष्ठले नियुक्ती गर्नुभएको थियो । शिक्षा मन्त्रालयको सहसचिवबाट राजिनामा दिएर युनेस्कोका सहायक महासचिव बन्नुभएका द्धारेको नियुक्ती बदर हुने भएको छ ।
मुख्य सचिव रेग्मीले आइतबार राती मन्त्रालयका अधिकारीलाई शिक्षा मन्त्रालय र त्यस मातहतका कार्यालयमा भएका नियुक्ती बदर गर्ने प्रकृया अघि बढाउन निर्देशन दिनुभएको थियो ।