काठमाडौं २६ असार / १० दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनले अत्यावश्यक औषधिसमेत खान नमानेका कारण अवस्था जटिल बन्दै गएको हो । अहिले संक्रमणबाट बचाउन स्पेसल केयर युनिटमा राखेर निगरानी मात्र गरिएको डा. प्रवीणकुमार गिरीले बताए ।
डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन प्रतिकूल बन्दै गएको छ, बचाउनका लागि जुनसुकै वेला आइसियू आवश्यक पर्न सक्छ,’ डा. गिरीले भने, ‘तर, जुम्लामा तत्काल यो सम्भव छैन ।’
आइतबारसम्म अलिअलि बोलेका र रेस्टरुमसम्म हिँड्न सकेका डा. केसी सोमबारबाट सिकिस्त भएको चिकित्सकको भनाइ छ । उपचारमा संलग्न चिकित्सकले सोमबार केसीको स्वास्थ्य अवस्थाबारे रिपोर्ट सार्वजनिक गरेका छन् ।
केसीको उपचारका लागि स्वास्थ्य मन्त्रालयले खटाएका चिकित्सकले भने जितसक्दो चाँडो काठमाडौंको सुविधासम्पन्न अस्पतालमा ‘एयरलिफ्ट’ गर्नुपर्ने सुझाब दिंँदै आएका छन् । उनीहरूसँग केसीले उपचार गर्न नमानेपछि जुम्लामै बसेर निगरानी गरिरहेका छन् ।