नेविसंघ विवाद : असन्तुष्ट पक्षद्वारा महाधिवेशन घोषणा
शिक्षाखबर डेस्क
२८ असार २०७५, बिहीबार
no immg

काठमाण्डौ,२८-असार/नेपाल विद्यार्थी संघ (नेविसंघ)भित्र देखिएको विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष नैनसिंह महरको कार्यसम्पादनबाट असन्तुष्ट बनेका बहुमत पदाधिकारी र सदस्यले बुधबार संगठनको १२औँ महाधिवेशनको मिति घोषणा गरेका छन् ।

संस्थापन पक्षले संगठनलाई विधिवत् तरिकाले नचलाई एकलौटी गरेको, निर्णय गर्दा बहुमत सदस्यको सल्लाह नलिएको र केन्द्रीय समितिको मिति सकिन केही समय मात्र बाँकी रहँदासम्म महाधिवेशनको मिति घोषणा नगरेकाले बाध्य भएर कदम चालिएको कोषाध्यक्ष शिव रिमालले बताए ।

२३–२५ मा महाधिवेशन
उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा सोमबार र मंगलबार काठमाडौंको वाल्मीकि विद्यापीठमा बसेको केन्द्रीय समिति बैठकले कीर्तिपुरमा २३, १४ र २५ साउनमा १२औँ महाधिवेशन गर्ने निर्णय भएको उनले जनाए ।

बैठकका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा ०७३ साउनमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित १२९ पदाधिकारी र सदस्यमध्ये ८७ जना पदाधिकारी र सदस्यको उपस्थिति थियो । अहिले नेविसंघको केन्द्रीय समितिमा १२९ निर्वाचित र २२ मनोनीत गरी १५१ जना छन् । महाधिवेशन घोषणा गर्ने समूहमा १५१ सदस्यीय समितिको पनि बहुमत छ ।

महाधिवेशन घोषणा गरेको समूहले संस्थापनले मनोनयन गर्न पाउने दुई उपाध्यक्ष, एक महामन्त्री, तीन सहमहामन्त्री र १६ केन्द्रीय सदस्यमा सल्लाहविना मनोनयन गरेको आरोप लगाएको छ ।

उपाध्यक्ष प्रकाश राना, नवीन राई, डिल्लीराम सुवेदी, रामप्रसाद अधिकारी र महामन्त्री कुन्दनराज काफ्लेद्वारा हस्ताक्षरित पत्रकार विज्ञप्तिमा अध्यक्ष महरले विधि विधानविपरीत विभिन्न जिल्ला, विश्वविद्यालय, क्याम्पस, सिटिइभिटीमा मनोनीत गरेका समितिलगायतका निर्णय र विधानविपरीत मनोनयन गरिएका आमन्त्रित केन्द्रीय सदस्यको मनोनयन खारेज गर्ने निर्णय बैठकले गरेको उल्लेख छ ।

बैठकले संगठनको विधानबमोजिम रिक्त २२ जना केन्द्रीय पदाधिकारी तथा सदस्य केन्द्रीय समितिको बहुमत बैठकबाट मनोनयन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले महाधिवेशन सम्पन्न गर्न उपाध्यक्ष रामप्रसाद अधिकारीको आयोजकत्वमा एक हजार एक सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको छ ।

संघकोे नियमावली पाँच दिनभित्र तयार गर्न पनि अधिकारीकै संयोजकत्वमा नियामावली तयारी समिति, महाधिवेशनबाट पारित गर्ने नीति तथा कार्यक्रम निर्माण गर्न उपाध्यक्ष डिल्लीराम सुवेदीको संयोजकत्वमा नीति तथा कार्यक्रम निर्माण समिति र उपाध्यक्ष नवीन राईको संयोजकत्वमा संगठनलाई समयानुकूल अघि बढाउन संघको विधानमा आवश्यक परिमार्जनका विधानको मस्यौदा तयार गर्र्ने समिति बनाइएको कोषाध्यक्ष रिमालले जानकारी दिए । बैठकले महाधिवेशन सम्पन्न गर्न १३ वटा समिति बनाएको छ ।

अधिवेशनबाट भाग्ने हत्कन्डा : महर

नेविसंघको संस्थापन पक्षले भने महाधिवेशनबाट भाग्ने हत्कन्डास्वरूप महाधिवेशनका मिति घोषणा भएको बताएको छ । अध्यक्ष महरले विधिवत् रूपमा साउन मसान्तमा महाधिवेशन गर्ने घोषणा एक वर्षअघि बसेको केन्द्रीय समितिको बैठकले गरेको अवस्थामा अहिले मिति तोक्नुको कुनै तुक नरहेको बताए ।

‘महाधिवेशन हुन नदिने समूहले पार्टी नेतृत्वमा रहेका नेताहरूको ग्रान्डडिजाइनमा महाधिवेशनको मिति घोषणा गर्ने काम भएको छ, यसको कुनै तुक छैन’ अध्यक्ष महरले नयाँ पत्रिकासँग भने, ‘मैले आगामी महाधिवेशनबाट ३२ वर्षे उमेरहद लगाउने तयारी गरेकाले, त्यो महाधिवेशन भाँडेर ३२ वर्ष कटेकाहरूलाई अध्यक्ष बनाउने रणनीतिअनुरूप यो हत्कन्डा अपनाइँदै छ ।’

आफू मिलेर अघि बढ्न तयार रहेको पटक–पटक बताए पनि अर्को समूह नेताहरूको उक्साहटमा वार्तामै बस्न नचाहेको महरको आरोप छ ।

विवाद मिल्छ : कांग्रेस प्रवक्ता शर्मा
मातृ पार्टी कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघमा केही विवाद भएपनि त्यो मिल्ने बताए । अलिअलि विवाद कुनै समयमा देखिए पनि नेविसंघ मिलेरै अगाडि बढ्ने उनले बताए । ‘नेविसंघमा सानातिना विवाद भइरहन्छन्, त्यसलाई पार्टीले मिलाउँछ ।

अहिलेको विवाद पनि मिलाउने प्रयास भइरहेको छ’ कांग्रेस प्रवक्ता शर्माले भने ‘पार्टीका नेताबीच त विवाद देखिन्छ नेविसंघमा विवाद देखिनु सामान्य हो, मिल्छ ।’ नेविसंघ हेर्नका लागि कांग्रेसले नेता डा. प्रकाशसरण महतको नेतृत्वमा केन्द्रीय सदस्यहरू गोविन्द भट्टराई, किशोरसिंह राठोर, प्रदीप पौडेल र गुरुराज घिमिरे सदस्य रहेको निर्देशक समिति बनाएको छ ।

त्यही समितिले विवाद मिलाउने प्रवक्ता शर्माले बताए । नेविसंघको विधान महाधिवेशन सम्पन्न भएको दुई वर्षभित्र अर्को महाधिवेशन गर्ने व्यवस्था छ । यो कार्यसमितिको दुईवर्षे कार्यकाल २३ साउनमा सकिँदै छ ।

प्रतिक्रिया