बारा, २८ असार/जितपुरसिमरा उपमहानगरपालिकाले एक निजी विद्यालयका लागि सार्वजनिक जग्गाबाट सडक खोलिदिएको छ । वडा नं. १५ को राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनका लागि सार्वजनिक जग्गाबाट २० फुटको सडक खोलिदिएको हो ।
जितपुरसिमरा उपमहानगरपालिकाको निर्णयविना नै वडाध्यक्ष रामप्रसाद लामिछाने र मेयर डा. कृष्ण पौडेलले सार्वजनिक जग्गा मासेका हुन् । हात्तीसार बजारमा रहेको वडा कार्यालयको पूर्वपट्टिबाट मेनरोड हुँदै राष्ट्रिय विभूति बोर्डिङ स्कुल पुग्न २० फिट चौडाइको करिब सय मिटर लामो सडक उपलब्ध गराएको छ ।
वडाध्यक्ष रामप्रसाद लामिछानेले भने आफूहरूले निजी विद्यालयलाई नभई डुमरवाना बहुमुखी क्याम्पसका लागि सडक खोलिदिएको दाबी गरे । तर, उपमहानगरपालिकाकै सार्वजनिक जग्गामा रहेको क्याम्पसको मुख्य प्रवेशद्वार उत्तरतर्फ फर्किएको छ । अहिले खोलिएको सडक क्याम्पसको पूर्वपट्टि पर्छ ।
उपमहानगरपालिकाले उपलब्ध गराएको बजेटबाट कम्पाउन्डवाल निर्माण गरिरहेको क्याम्पसले अहिले मुख्य गेट नै नयाँ खोलिएको सडकतर्फ फर्काउन थालेपछि विवाद भएको छ । क्याम्पसप्रमुख राधेश्याम सिवाकोटीले गेट पहिलेकै सडकतर्फ फर्काउनुपर्ने अडान राखेका छन् । तर, नगरपालिकाका पदाधिकारी भने निजी विद्यालयलाई दिइएको सडकमा विरोध आउन नदिन क्याम्पसको गेट पूर्वतर्फ पार्न लागिपरेका छन् ।
अहिले उपमहानगरपालिकाले दिएको १० लाख रुपैयाँमा क्याम्पसको कम्पाउन्डवाल लगाउन सुरु गरिएको छ । साबिक डुमरवाना गाविस हुँदा सर्वदलीय निर्णयबाट आठ कट्ठा जग्गा डुमरवाना बहुमुखी क्याम्पसलाई उपलब्ध गराइएको थियो । अहिले क्याम्पसले उपमहानगरपालिकाको स्वीकृतिमा करिब ११ कट्ठा जग्गामा कम्पाउन्डवाल लगाउँदै छ ।
यसअघि जितपुरसिमरा–२ को सार्वजनिक जग्गामा बन्न लागेको एक क्लबको भवन बनाउन उपमहानगरपालिकाले रोक लगाएको थियो । उपमहानगरले विज्ञप्ति जारी गरी सार्वजनिक जग्गामा भवन निर्माण गर्न नपाउने जनाएको थियो । मेयर डा. कृष्ण पौडेलले भने आफू अन्य काममा व्यस्त भएकाले सो सडकका विषयमा बुझिनसकेको बताए ।
विद्यालयसँग विकल्प छ
सो विद्यालयको पूर्वतर्फ निजी स्वामित्वको जग्गा छ । सो जग्गा किनेर विद्यालयले सडक प्रयोग गर्न सक्छ । त्यसका लागि जग्गाधनीसँग सहमति कायम गर्नुपर्छ । तर, जग्गाधनीले महँगोमा मात्र बेच्न खोज्ने हुनाले विद्यालयले सार्वजनिक जग्गामा आँखा लगाएको हो ।
यस्तो छ स्थानीय सरकार सञ्चालन ऐनमा
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १३ को दफा १७ (१) ले सरकारी तथा सामुदायिक सम्पत्ति वा ऐलानी र पर्ती जग्गासमेतको रेखदेख, मर्मतसम्भार र अन्य प्रबन्ध गर्ने अधिकार स्थानीय तहलाई छ । ऐनले सार्वजनिक तथा सामुदायिक सम्पत्ति वा ऐलानी जग्गा बेचबिखन वा अन्य अरू कुनै व्यहोराले हक हस्तान्तरण गर्न र लिजमा दिन पनि नपाउने व्यवस्था गरेको छ ।
किन खोल्नुपर्यो सडक ?
तत्कालीन डुमरवाना गाविसले आठ कट्ठा सार्वजनिक जग्गा डुमरवाना बहुमुखी क्याम्पसलाई भवन निर्माणका लागि दिएको थियो । सो जग्गामा कम्पाउन्डवाल नभएकाले राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनले बाटोका लागि जग्गा नै प्रयोग गरिरहेको थियो । तर, उपमहानगरपालिकाले क्याम्पसलाई कम्पाउन्डवाल लगाउन बजेट दिएपछि विद्यालयका लागि छुट्टै सडक चाहिएको हो ।