एक महिनामा ३ सुत्केरीको मृत्यु,विरोध भएपछि प्रसूति वार्ड एक हप्ता बन्द
शिक्षाखबर डेस्क
७ श्रावण २०७५, सोमबार
no immg

विराटनगर, ७ साउन /विराटनगरमा रहेको नोबेल मेडिकल कलेजमा गएको असार महिनामा तीनजना सुत्केरी र एकजना नवजात शिशुको मृत्यु भएको छ । मृतकका आफन्तले चिकित्सकको लापरबाहीले सुत्केरी र शिशुको मृत्यु भएको आरोप लगाएका छन् ।

गएको २५ असारमा प्रसूति गराउन नोबेल अस्पतालमा भर्ना भएकी धनकुुटा महालक्ष्मी–४ चानुवाकी निर्मला खड्काको मृत्यु भएको हो । छोरीलाई जन्म दिएपछि खड्काको मृत्यु भएको थियो । २३ असारमा प्रसूति गराउन अस्पतालमा भर्ना भएकी सुनसरी गढी गाउ“पालिका–४ छिटहाकी २६ वर्षीया चाँदनी मेहता र उनको नवजात शिशुको पनि मृत्यु भयो । ९ असारमा प्रसूतिको क्रममा कञ्चनरूप नगरपालिका–८ सप्तरीकी २८ वर्षीया अनु सोनीको पनि मृत्यु भएको थियो ।

धेरै सुत्केरी गराउने होडबाजीले सेवा गुणस्तरहीन
आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेको अस्पतालले धेरै प्रसूति गराउने होडबाजीले गर्दा बिरामीको उपचारमा हेलचेक्र्याइँ गर्ने गरेको जानकारहरूले बताएका छन् । जसका कारण अस्पतालमा आमा र शिशुको मृत्युदर बढेको हो ।

लगालग सुत्केरीको मृत्यु हुँदा अस्पतालमा नारा–जुलुससमेत भएको थियो । कतिपय पीडितलाई अस्पताल प्रशासनले क्षतिपूर्तिसमेत दिएको छ । विरोधको स्वरलाई मत्थर पार्न प्रसूति वार्ड बन्द गरिएको हुन सक्ने स्थानीयले बताएका छन् ।

अब एक दिनमा २५ जनालाई मात्र भर्ना गरिने
अस्पताल प्रशासनले अब दिनमा २५ जना महिलालाई मात्र प्रसूतिका लागि भर्ना लिने जनाएको छ । गुणस्तरीय सेवा दिन अब एक दिनमा २५ जनाभन्दा बढी महिलालाई प्रसूतिका लागि भर्ना नलिने अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए ।

‘विगतमा क्षमताभन्दा बढी र अन्तबाट रिफर भएर आएका गम्भीर बिरामीलाई पनि भर्ना लिँदा उपचार भरपर्दो भएन,’ अधिकृत दाहालले भने, ‘धेरै बिरामी आएका कारण उपचारमा समस्या भएको हो कि भनेर अब दैनिक २५ जनाभन्दा बढी महिलालाई प्रसूतिका लागि भर्ना नलिने नीति बनाएका छाैँ ।’ प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अब विराटनगर क्षेत्रका सबै अस्पताल र प्रसूति गृहको नियमित अनुगमन गरिने बताए ।

विनाजानकारी वार्ड बन्द
चिकित्सक र स्वास्थ्यकर्मीको लापरबाहीले आमा र शिशुको मृत्यु भएको भन्दै मृतकका आफन्तले चर्को विरोध गरे । सुत्केरी र नवजात शिशुको मृत्यु हुने क्रम नरोकिएपछि अस्पतालले प्रसूति वार्ड एक हप्ता बन्द गरेको छ । असार २६ गतेदेखि ३२ गतेसम्म प्रसूति वार्ड बन्द भएको हो । एक हप्ता बन्द भएको प्रसूति वार्ड १ असारबाट पुनः सञ्चालनमा आएको छ ।

प्रसूति वार्ड बन्द गर्दा नियमनकारी निकायलाई जानकारी गराउनुपर्ने प्रावधान छ । तर, नोबेलले कसैलाई जानकारी नगराई र सार्वजनिक सूचना पनि नगरी प्रसूति वार्ड बन्द गरेको हो । विनासूचना प्रसूति वार्ड एक हप्तासम्म बन्द हुँदा सुत्केरी हुन आएका सयौँ महिला त्यसै फर्किन बाध्य भएका थिए ।

प्रसूति वार्ड एक हप्ता बन्द भएको विषयमा विराटनगर महानगरपालिकाको स्वास्थ्य शाखा, जिल्ला जनस्वास्थ्य कार्यालय, क्षेत्रीय स्वास्थ्य निर्देशनालय बेखबर छन् । प्रसूति वार्ड बन्द गरे पनि नोबेलले प्रसूति वार्ड निरन्तर चलिरहेको दाबी गरेको छ ।

विराटनगर महानगरपालिका स्वास्थ्य शाखाकी अधिकृत ललिता मगरले प्रसूति वार्ड बन्द भएको विषयमा अनभिज्ञता प्रकट गरिन् । ‘सेवा बन्द भएको जानकारी मलाई छैन,’ उनले भनिन्, ‘एकदुई दिन वार्डमा ‘स्प्रे’ गर्न माथिल्लो तलामा सारेर सेवा सञ्चालन गरिएको मात्र मलाई जानकारी दिइएको छ ।’

प्रतिक्रिया