मेडिकल कलेज सरकारी नै अब्बल
शिक्षाखबर डेस्क
८ श्रावण २०७५, मंगलवार
no immg

काठमाडौं ८ साउन / थप मेडिकल कलेज खोल्ने/नखोल्ने विषय हाल भएका निजी मेडिकल कलेजमा पढेका विद्यार्थीको अवस्था हेर्दा पनि स्पष्ट हुन्छ । यही अवस्थामा थप मेडिकल कलेज खोले काउन्सिलको परीक्षामा विद्यार्थीको पास दर थप निराशाजनक हुने छ ।

निजीको तुलनामा सरकारी मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीको पासदर राम्रो देखिन्छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र आइओएममा अध्ययन गर्ने विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मक कक्षाको बढी अवसर पाउँछन् ।

सरकारी मेडिकल कलेजमा पढेका विद्यार्थीले इमर्जेन्सी, ओपिडी, वार्डमा जहाँ गए पनि निरन्तर बिरामी हेरिरहेका हुन्छन् । जति बिरामी हेर्छन्, पढ्छन्, अनुगमन गर्छन् त्यसका साथै विशेषज्ञ चिकित्सकको कुरा सुन्छन् ।

त्यस्ता विद्यार्थीले धेरै ज्ञान हासिल गरिसकेका हुन्छन् । तर, निजी मेडिकल कलेजमा पूर्वाधार, प्राध्यापन समूह र उपकरणको स्थिति नाजुक छ । त्यसैले अभिभावकको पैसा त लगानी हुन्छ, विद्यार्थीले सिक्न पाउँदैनन् । त्यसैले, अहिले विद्यार्थी मात्र होइन, भोलि बिरामी ठगिन्छन् ।

कलेज खोल्ने, तर त्यसले कस्तो पढाइरहेको छ भनेर अनुगमन गर्ने क्षमता हामीसँग छैन । अहिले खडेबाबाबाट सतर्क भएका छौँ, तर बिरामी नै नभएका कारण विद्यार्थीको शिक्षण सिकाइमा समस्या छ । त्यसैले कलेज होइन, गुणस्तर बढाउनुपर्छ ।

डाक्टरहरूको आन्दोलन : बिरामीलाई निःशुल्क उपचार

डा. गोविन्द केसीले अनशन तोडे प्रधानमन्त्री केपी ओली स्वयं वार्तामा बसेर उनका मागबारे छलफल गर्न तयार भएका छन् । केसीले अनशन तोडेर बोल्न सक्ने अवस्था भएपछि प्रधानमन्त्री स्वयंले वार्ता गर्ने प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए । तर, केसीले अनशन नतोडेसम्म वार्ता नहुने प्रधानमन्त्रीको अडान छ ।
केसीको अनशनमा राजनीति हाबी भएको भन्दै प्रधानमन्त्री सीधै उनीसँगै वार्तामा बस्ने योजनामा छन् । बीचका व्यक्ति केसीका मागभन्दा राजनीतिमा बढी केन्द्रित भएको उनको निष्कर्ष छ ।

पूर्वराष्ट्रपति यादवले केसीलाई भेटे

पूर्वराष्ट्रपति डा. रामवरण यादवले डा. केसीलाई भेटेका छन् । सोमबार दिउँसो अस्पताल पुगेका यादव र केसीबीच कुनै कुराकानी भने भएन । केसी बोल्न नसकेका कारण दोहोरो कुरा हुन नपाएको हो । यादवले केसीका सहयोगीसँग स्वास्थ्य स्थितिबारे जानकारी लिएका थिए ।

चिकित्सक संघको फरक आन्दोलन : बिरामीलाई निःशुल्क जचाउने

चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले बिरामीहरुलाई निःशुल्क जचाउने घोषणा गरेको छ । सोमबार आमहडताल फिर्ता लिएर संघले आन्दोलनको नयाँ शैली अपनाउने घोषणा गरेको अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए ।

३ साउनमा संघले गरेको आमहडतालको विरोधमा चिकित्सक नै उत्रिएपछि फरक आन्दोलनको कार्यक्रम तय गरेको हो । विज्ञप्तिमार्फत संघले भनेको छ, ‘नियमित ओपिडी टिकट, रसिद र बिल बहिष्कार गरिनेछ । बिरामीको स्वास्थ्यलाई असर नपर्ने गरी वैकल्पिक उपायद्वारा ओपिडी सेवा सञ्चालन गरिनेछ ।’

सरकारलाई आर्थिक रूपमा घाटा पारेर दबाब दिन यो रणनीति अपनाइएको संघका एक पदाधिकारीले बताए । उनले भने, ‘अस्पताल बन्द गर्दा सफल हुन सकिएन । अब निःशुल्क उपचार गर्दा संस्था घाटामा जानेछ । त्यसपछि सरकारले चासो दिन्छ भन्ने हो ।’

नागरिक समाजसँग समन्वय गरी हरेक जिल्लामा सरकारको विरोध गर्न पनि चिकित्सकलाई संघले ‘सर्कुलर’ गरेको छ । यसैगरी, काठमाडौंमा संघका पदाधिकारीसहित सम्पूर्ण चिकित्सक बसन्तुपर डबलीमा बिहान १० देखि बेलुका ५ बजेसम्म अनशन बस्ने निर्णय गरेको छ ।

हडताल नगर्न छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई मन्त्रालयको पत्राचार

शिक्षा मन्त्रालयले छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई कुनै पनि आन्दोलन तथा बन्दहडतालमा सहभागी नहुन आग्रह गरेको छ ।

छात्रवृत्ति पाउँदा गरेको सम्झौताअनुसार आचारसंहितामा रहेर अध्ययन गर्न विद्यार्थीलाई मन्त्रालयले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमार्फत सचेत गराएको छ । केही दिनअघि सहुलियत र छात्रवृत्तिमा पढेकाहरूलाई सचेत गराएको हो ।

काठमाडौं ल्याएको चार दिनपछि स्वास्थ्य परीक्षण

जुम्लाबाट काठमाडौं ल्याएको चार दिनपछि डा. केसीको स्वास्थ्य परीक्षण गरिएको छ । शारीरिक अवस्था निकै कमजोर बनेपछि केसी स्वास्थ्य परीक्षण गराउन राजी भएका हुन् । सहयोगी चिकित्सकहरूबाट केसीले स्वास्थ्य परीक्षण गराएका छन् ।

उनको शरीरमा रगतका सम्पूर्ण ‘प्यारामिटर’ असामान्य छन् । सेतो रक्तकोषिकाको संख्या न्यून देखिएको छ । यस्तो अवस्थामा संक्रमणको दर बढी हुन्छ । रगतमा ग्लुकोजको मात्रा पनि निकै कम देखिएको छ ।

पोटासियम, म्याग्नेसियम र क्याल्सियमको मात्रा पनि कम छ । पोटासियम निकै कम भएकाले मुटुमा समस्या हुन सक्ने खतरा बढी छ ।

प्रतिक्रिया