शैक्षिक परामर्शमा विदेशी लगानीको विरोध
शिक्षाखबर डेस्क
१४ श्रावण २०७५, सोमबार
no immg

काठमाडौं १४ साउन /शैक्षिक परामर्शमा काम गरिरहेका पाँच संस्थाले शैक्षिक परामर्शको क्षेत्रमा विदेशी लगानीको विरोध गरेका छन् । इक्यान, आइरिन, नायर, फेकन, जाल्सनले आइतबार पत्रकारसम्मेलन गरी नेपालकै कम्पनीहरूको नियमन भइनसकेको अवस्थामा विदेशी लगानी भित्र्याउँदा अरू समस्या थपिएर यो क्षेत्र अझै कमजोर हुँदै जाने बताएका छन् ।

इक्यान अध्यक्ष विष्णुहरि पाण्डे, फेकन अध्यक्ष युवराज कटवाल, आइरिन अध्यक्ष कुमार कार्की, नायर महासचिव विज्ञान श्रेष्ठ र जाल्सानका प्रथम उपाध्यक्ष झमकलाल श्रेष्ठद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा भोलिको सुन्दर समाज निर्माण र शिक्षित नेपाली समाजको परिकल्पनाका लागि यो क्षेत्रमा विदेशी लगानीले असर गर्ने उल्लेख छ ।

‘शैक्षिक परामर्श उत्पादनमूलक होइन, सेवामूलक क्षेत्र हो । नेपालीको सेवा गर्न विदेशी होइन, नेपाली नै सक्षम छन्,’ ती संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । शिक्षाको परामर्श क्षेत्रमा विदेशी लगानी भित्रयाउनु नेपाली समाजलाई अस्वस्थ बनाउँदै लैजानु भएको उनीहरूको दाबी छ । ‘वैदेशिक लगानी भित्र्याउँदा लगानीसँगै अनेक विकृति भित्रिनेछन् ।

अनावश्यक अस्वस्थ प्रतिस्पर्धा, नेपाली विद्यार्थीमाथि अनावश्यक बोझ तथा भ्रम, नेपाली विद्यार्थी बिदेसिने क्रमको बढोत्तरीलगायत समस्याले नेपाली समाजमा जरा गाड्नेछ,’ विज्ञप्तिमा भनिएको छ । आइडिपी एजुकेसनले नेपालमा परामर्श संस्था खोल्ने घोषणा गरेको भन्दै उनीहरूले विरोध गरे । आइडिपी नेपालको उद्योग मन्त्रालयअन्तर्गतको कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भइसकेको छ भने शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर सञ्चालनको तयारीमा छ ।

प्रतिक्रिया