काठमाडौं, १५ साउन/उमेर र शैक्षिक प्रमाणपत्रको विवादमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले असामयिक अवकाश लिनुप-यो । तर, पराजुलीको बिदाइसँगै कायममुकायम जिम्मेवारी लिएका र प्रधानन्यायाधीशमा प्रस्तावितसमेत भएका दीपकराज जोशीसमेत शैक्षिक प्रमाणपत्र विवादमा परेका छन् ।
-पराजुली तनहुँका हुन् भने जोशी काठमाडौंका । आश्चर्य ! दुवैले वीरगन्जको नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका परीक्षा पास गरेको प्रमाणपत्र पेस गरेका छन् । अझ दुवैले एउटै साल अर्थात् २०२९ मा तृतीय श्रेणीमा एसएलसी उत्तीर्ण गरेको देखिन्छ । तर, आश्चर्य, एउटै विद्यालयका र एउटै ब्याचका पराजुलीको सिम्बोल नं. ११७ छ भने जोशीको ३६६७ छ ।
-जोशीले नेपाल ल क्याम्पसबाट आइएल पास गरेको प्रमाणपत्र पेस गरेका छन् । तर, सो प्रमाणपत्रमा उनले प्रवेशिका परीक्षा नेपाल राष्ट्रिय विद्यापीठबाट होइन, विजय मेमोरियल स्कुलबाट पास गरेको उल्लेख छ । विजय मेमोरियलको सिम्बोल नं. पनि ३६६७ नै उल्लेख छ । त्यसैले जीवनको सबैभन्दा महत्वपूर्ण परिस्थितिमा जोशी आफ्नै प्रमाणपत्रको जालोमा फसेका छन् ।
फाइल फोटो