प्रमाणपत्र नै जोशीविरुद्ध
शिक्षाखबर डेस्क
१६ श्रावण २०७५, बुधबार
no immg

काठमाडौं १६ साउन / प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सर्वसम्मत गराउन संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । सर्टिफिकेट विवाददेखि विवादास्पद फैसला गरेको, सुनुवाइका क्रममा संसद्को गरिमालाई ख्याल नगरी प्रस्तुत भएकोजस्ता आरोप लागेका जोशीको नाम सर्वसम्मत अस्वीकृत गर्ने सत्तापक्षको तयारी छ । तर, विपक्षी कांग्रेस भने अझै स्पष्ट भइसकेको छैन ।

नयाँ पत्रिकाका अनुसार संसदीय सुनुवाइ समिति स्रोतका अनुसार प्रस्तावित प्रधानन्यायाधीश जोशीको शैक्षिक सर्टिफिकेटदेखि जन्ममितिसम्म विवादास्पद भेटिएको छ । समिति स्रोतले दिएको गोप्य डकुमेन्टअनुसार जोशीले विजय मेमोरियल स्कुलबाट ०२७ मा प्रवेशिका परीक्षा दिएका छन् । नेपाल राष्ट्रिय विद्यापीठबाट जोशीले ०२९ मा प्रवेशिका परीक्षा दिएकोसमेत प्रमाणपत्रमा उल्लेख छ ।

समितिमा जोशीले आफूले विजय मेमोरियल स्कुलमा १० कक्षा पढेको र नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका परीक्षा दिएको बताएका छन् । ‘०२७ मा विजय मेमोरियल स्कुलबाट एसएलसी अर्थात् त्यसवेला भनिने प्रवेशिका परीक्षा दिएको प्रमाण भेटिएको छ । उनको सिम्बोल नम्बर १२५८ बी हो,’ समिति स्रोतले भन्यो ।

त्रिविको नेपाल ल क्याम्पसमा जोशीले बुझाएको प्रोगेस रिपोर्टमा विजय मेमोरियल स्कुलबाट प्रवेशिका परीक्षा दिएको र त्यतिवेलाको सिम्बोल नम्बर ३६६७ भनिएको छ । उनकै अर्को शैक्षिक प्रमाणपत्रमा नेपाल राष्ट्रिय विद्यापीठबाट ३६६७ सिम्बोल नम्बरमा प्रवेशिका परीक्षा दिएको उल्लेख छ । ‘विजय मेमोरियल र नेपाल राष्ट्रिय विद्यापीठ दुवैबाट प्रवेशिका दिए । दुवैको सिम्बोल नम्बर एउटै भएको डकुमेन्टमा उल्लेख छ, एउटा संस्कृत स्कुल अर्को जनरल स्कुल । यस्तो कसरी हुन्छ ?’ स्रोतले भन्यो ।

डिल्लीबजारको विजय मेमोरियल स्कुलबाट जोशी वीरगन्जमा संस्कृत पढ्न गएकोसमेत जनाइएको छ । स्रोतका अनुसार दुईतिर कसरी एउटै सिम्बोल नम्बर भयो भन्ने प्रश्नमा जोशीले आफूले टेस्टसम्म विजय मेमोरियल र त्यसपछि नेपाल राष्ट्रिय विद्यापीठमा पढेकाले त्यस्तो भएको भन्ने अपत्यारिलो जवाफ दिने गरेका छन् ।

जोशीले आफ्नो दाबी गरेको सिम्बोल नम्बरमा हिमबहादुर लेकाली

-क्याम्पसमा जोशीले पेस गरेको प्रोगेस रिपोर्टमा विजय मेमोरियलबाट ०२९ मा एसएलसी गरेको उल्लेख छ । तर, उनले ०२७ मा एसएलसी दिएको अर्को डकुमेन्ट सुरक्षित छ । ‘परीक्षा नियन्त्रण कार्यालयमा हेर्दा ०२९ मा ३६६७ सिम्बोल नम्बरमा हिमबहादुर लेकालीले परीक्षा दिएको भेटिन्छ । लेकालीले नारायण विद्या मन्दिर हाईस्कुल काठमाडौंबाट परीक्षा दिएका हुन् ।

जोशीको सर्टिफिकेटले यो सिम्बोल नम्बर जोशीकै हो र ०२९ मा विजय मेमोरियलबाट एसएलसी दिएको भन्ने छ । तर, ०२९ मा विजय मेमोरियलको एसएलसीको सिम्बोल नम्बर १५१७३ देखि १५२३० सम्म मात्र छ । ०२९ को लिस्टमा दीपकराज जोशी भन्ने मान्छे नै छैन,’ स्रोतले भन्यो ।

जन्ममितिसमेत फरक

विजय मेमोरियलबाट ०२७ मा एसएलसी दिएका जोशीको जन्ममिति २४ कात्तिक ०११ भन्ने उल्लेख छ । तर, अन्य डकुमेन्टमा जोशीको जन्ममिति एक महिनाअघि अर्थात् २४ असोज ०११ छ । स्रोत भन्छ, ‘जन्ममितिदेखि सर्टिफिकेटसम्म विवादास्पद छ ।’

प्रतिक्रिया