काठमाडौं २३ साउन / विश्वविद्यालय हाताको एउटा भवनमा मेडिकल कलेजअन्तर्गत नर्सिङ कार्यक्रम सञ्चालन भइरहेको छ । मेडिकल कलेज प्रमुख कविता अधिकारीले केही वर्षअघिसम्म खाली जग्गामा अदुवा र लसुन रोप्ने गरे पनि अहिले खनजोत नगर्दा झाडी बढेको बताइन् । धेरै जमिन भएको र भवनहरूको पनि उपयोग नभएकाले संरक्षणमा समस्या भएको उनले बताइन् ।
विश्वविद्यालयमा बिएस्सी नर्सिङ र बिएन कार्यक्रममा थप सुधार गर्ने, एमपिएच र एम फर्माको कक्षा पनि चलाउने कार्यक्रम रहेको अधिकारीले बताइन् । तर, विश्वविद्यालयभित्रको टिचिङ अस्पताल भने नाजुक अवस्थामा छ । उपचारका लागि आक्कलझुक्कल मात्र बिरामी आउँछन् । आएकाले पनि अस्पतालको सुविधा कमजोर भएको गुनासो गर्ने गरेका छन् ।
‘आकस्मिक कक्षमा समेत डाक्टर भेटिँदैनन्, फोन गरेर बोलाउनुपर्छ, यहाँ औषधि पनि पाइँदैन,’ बेलबारी–२ की स्थानीय अम्बिका पोख्रेलले भनिन् । उपचारका लागि स्थानीयहरू त्यहाँ जानै छाडेको उनले बताइन् ।
सुधार चुनावी नारा मात्र
गत स्थानीय र संसदीय निर्वाचनमा उम्मेदवारहरूले विश्वविद्यालयलाई नमुना बनाउने नारा बनाएका थिए । विश्वविद्यालय क्षेत्र नं. ६ मा पर्छ । तर, सुन्दर हरैँचाका केही भाग क्षेत्र नं. ३ मा पनि भएकाले त्यस क्षेत्रका उम्मेदवारले पनि नारा बनाए ।
अहिले क्षेत्र नं. ३ र ६ बाट जितेका दुवै संघीय सांसद मन्त्री छन् । मोरङ ६ का लालबाबु पण्डित र ३ का भानुभक्त ढकाल मन्त्री भएका हुन् । तर, अहिलेसम्म उनीहरूले सुधारका लागि कुनै पहल नगरेको विश्वविद्यालय स्रोतले जनाएको छ ।
विश्वविद्यालय परिसर स्थानीयको चरन क्षेत्र
विश्वविद्यालय परिसर अहिले स्थानीयको चरन क्षेत्र बनेको छ । मेडिकल कलेजकी प्रमुख कविता अधिकारीका अनुसार विश्वविद्यालय परिसर घेर्न बनाइएका पर्खाल भत्किएकाले स्थानीयले गाई र बाख्रा चराउने गरेका छन् । विश्वविद्यालय क्षेत्रमा अहिले झाडी बढेको छ ।






