मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) सुर्खेतमा यसै शैक्षिक सत्र देखि कानुन तर्फको बिए एलएलबी कक्षा शुरु हुने भएको छ । प्लस टु सकेका विद्यार्थीहरुका लागि ५ बर्षे सेमिटेक्निकल कार्यक्रमको रुपमा शैक्षिक सत्र २०७५र०७६ देखि विश्वविद्यालयले भर्ना आवेदन खुल्ला गरेको हो ।
विश्वविद्यालयका रजिष्ट्रार डाक्टर महेन्द्रकुमार मल्लका अनुसार यही भदौ ३० गते सम्म आवेदन फाराम भर्ने समय तोकिएको छ । उहाँका अनुसार असोज ४ गते प्रवेशिका परीक्षा हुने र असोज १५ बाट कक्षा शुरु हुने शैक्षिक तालिका प्रकाशन गरिएको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको बिए एलएलबी कार्यक्रमलाई भावी प्रधानन्यायाधीश तथा न्यायाधीश उत्पादन गर्ने केन्द्रको रुपमा विकास गरिने उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्रकुमार कोइरालाले बताउनुभयो ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले गत बैशाख ७ गते पूर्व महान्यायाधिवक्ता एवं काठमाडौं स्कूल अफ ल का कार्यकारी निर्देशक प्राध्यापक डाक्टर युवराज संग्रौलाको उपस्थितिमा सुर्खेतस्थित कानुन विज्ञहरुसंग छलफल गरी पाठ्यक्रमलाई अन्तिम रुप दिएको थियो । ५ बर्षे बिए एलएलबी कार्यक्रम बिए, बिविए, बिबिएस तथा विएड वा सो सरहको हुनेछ ।
–साभार : सेरोफेरो अनलाइन