चीनले दिएको नर्सिङ छात्रवृत्ति रोकियो
शिक्षाखबर डेस्क
२ भाद्र २०७५, शनिबार
no immg

अर्थ र स्वास्थ्यले स्वार्थबस रोकेको नर्सिङ संघको आरोप
चीन सरकारले उपलब्ध गराउँदै आएको नर्सिङ छात्रवृत्ति कोटा रद्द भएको छ । अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले आफ्नो मान्छे पठाउन नपाएपछि कोटार रद्द गरेको आरोप नेपाल नर्सिङ संघले लगाएको छ । चीन सरकारलाई दुवै मन्त्रालयले पत्र पठाएर यही वर्षबाट कोटा रद्द गरिएको जानकारी गराएका छन् ।

नेपाली नर्सहरूको क्षमता र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सन् २०१७ देखि पाँच वर्षका लागि एमएसी (मास्टर) अध्ययन गराउन नर्स लैजाने सम्झौता भएको थियो । दुई देशका सरकारबीच सन् २०१७ देखि २०२१ सम्म प्रत्येक वर्ष २५—२५ जना नर्स लैजाने सहमति थियो । तर, सम्झौताको एक वर्ष बित्न नपाउँदै अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयले कोटा रद्द गरेका छन् ।

नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले कोटा रद्द हुनु दुःखद भएको बताइन् । कोटा रोकिएपछि कसरी पुनः सम्झौता अगाडि बढाउने भन्नेबारे चीन सरकारसँग संघले छलफल गरिरहेको उनले बताइन् ।

आफन्त पठाउन नपाएपछि कोटा नै रद्द
स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयले गत वर्ष पनि विद्यार्थी पठाउने वेला सार्वजनिक सूचना जारी गरेका थिएनन् । मन्त्रालयभित्रै सूचना जारी गरेका उनीहरूले २५ जनाको कोटामा करिब १० जना मात्रै पठाउने तयारी गरेका थिए । तर, नर्सिङ संघले जानकारी पाएपछि सच्याएर ३० जनाको सूची तयार पारिएको थियो । सूचीमा तोकिएभन्दा ७ जना बढी नाम सहभागी भए पनि चीन सरकारले उनीहरूलाई वेटिङ लिस्टमा राखेर चीन लगेको थियो ।

नर्सको शिक्षाप्रति राज्य उदासीन 
तारा पोखरेल
अध्यक्ष, नर्सिङ संघ
नेपाल सरकार र चीन सरकारबीच पाँच वर्ष मास्टर्ड पढाउने विषयमा सम्झौता भएको थियो । गत वर्ष हाम्रा विद्यार्थीले त्यो अवसर सदुपयोग गर्दै छन् । दुई वर्षे कोर्समा उनीहरू अध्ययनरत छन् । दोस्रो वर्षका लागि साउनमा विद्यार्थी पठाउनुपर्ने थियो । तर, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयले नै कोटा रद्द गरे ।

अर्थमन्त्री र स्वास्थ्यमन्त्री सकारात्मक छन् । तर, दुवै मन्त्रालयका छात्रावृत्ति शाखाका कर्मचारीले यसलाई रोकेका हुन् । यसमा उनीहरूको स्वार्थ देखिन्छ । नर्सिङ विषयमा उच्च शिक्षा हासिल गर्नुपर्छ भन्ने कुरा राज्यलाई जानकारी भएन । अस्पतालमा नर्सको भूमिका के हुन्छ ? कस्तो सेवा जनताले पाउनुपर्छ ? भन्ने कुरा राज्यले सोच्न सकेन, यो दुर्भाग्य हो । अमेरिका अस्ट्रेलियमा नर्सले बिरामी जाँच्छन् । तर, हाम्रोमा पाएको सेवा सुविधा पनि काट्ने काम हुन्छ ।

हामीले होइन अर्थले रोक्यो
मोहम्मद दाउद
प्रवक्ता, स्वास्थ्य मन्त्रालय
चीन सरकारले दिएको छात्रावृत्ति रोकिएको कुरा सत्य हो । तर, हामीले रोकको होइन । हामी छात्रावृत्तिलाई निरन्तर अगाडि बढाउने पक्षमा छौँ । यही साउनमा विज्ञापन गर्नुपर्ने थियो । हामीले सूचना निकाल्न तयारी गरेका थियौँ । तर, अर्थ मन्त्रालयले यसलाई रद्द ग-यो । अहिले पैसा आएको छैन नपठाउने भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र आएको छ । अर्थ मन्त्रालयका कारणले गर्दा नर्सहरूले पाउँदै आएको छात्रावृत्ति रोकिएको हो ।

प्रतिक्रिया