महाधिवेशन गर्न नेविसंघलाई तीन महिना थप
शिक्षाखबर डेस्क
२ भाद्र २०७५, शनिबार
no immg

नेविसंघमा अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीहरू महाधिवेशन गर्न तयार भएपछि नेविसंघको म्याद तीन महिना थप्न माउपार्टी कांग्रेस तयार भएको छ । नेविसंघका प्रमुख नेतृत्वले सहमतिमै आगामी २ मंसिरमा महाधिवेशन गर्न सकिने कार्ययोजना ल्याएपछि पार्टी म्याद थप्न तयार भएको हो ।

यसअघि निर्देशक समितिले आगामी तीन महिनाभित्र १२औँ महाधिवेशन गर्ने कार्ययोजना पेस गर्न गत साउन तेस्रो साता निर्देशन दिएको थियो । उनीहरूले सहमतिमा २ मंसिरदेखि महाधिवेशन गर्न सकिने गरी कार्यायोजना ल्याएको समिति सदस्य प्रदीप पौडेलले जानकारी दिए । ‘केन्द्रीय समितिका अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीहरूले सहमतिमा महाधिवेशन गर्ने प्रतिबद्धता पेस गरेपछि पार्टी तीन महिना थप गरी महाधिवेशन गर्ने समय दिन तयार भएको हो,’ पौडेलले नयाँ पत्रिकासँग भने, ‘उनीहरूले जिल्ला, क्षेत्र, क्याम्पसहरूको अधिवेशन गर्ने सहमति गरेका छन् ।’

नेविसंघ अध्यक्ष नैनसिंह महरले पनि सहमतिमा महाधिवेशन गर्ने कार्ययोजना प्रस्तुत गरेपछि तीन महिना समय थप्न पार्टी तयार भएको जानकारी दिए । उनका अनुसार अब शनिबार समय थप गरिएको औपचारिक पत्र समितिले सार्वजनिक गर्नेछ ।

म्याद नथपिँदा नेविसंघको निर्वाचित कार्यसमिति भंग हुने र तदर्थ समिति बन्ने हुँदा नेताहरू विवादलाई सहमतिमा हल गरी महाविधेशन गर्न तयार भएका हुन् । उनीहरू मिलेर आएपछि तीन महिना समय दिन पार्टी पनि तयार भएको छ । नियमित दुई वर्ष र विशेष अवस्थामा तीन महिना थप गर्न पाइने व्यवस्थालाई टेकेर समय थपिन लागेको हो । निर्देशक समितिका संयोजक डा. प्रकाशशरण महत राजधानीबाहिर भएका कारण एनपी सावदले शुक्रबारको बैठकको संयोजन गरेका थिए ।

प्रतिक्रिया