काठमाडौँ — कालीमाटी तरकारी बजार अनुगमन गर्न गएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहरीको टोली र व्यापारीहरुबीच विवाद भएको छ । विवाद धेरै बढेपछि व्यापारीहरुले अनुगमनमा गएको टोलीलाई केही बेर नियन्त्रणमा लिएर छोडेका छन् ।
फाइल तस्बिर
सोमबार बिहान अनुगमनमा गएको टोलीलाई भित्र राखेर व्यापारीले गेटमा धर्ना दिएका थिए। उक्त टाेलीलाई छुटाउन त्यहाँ थप प्रहरी समेत परिचालन गरिएको थियो।
काक्रो, फर्सी लगायत तरकारी लिएर ललितपुरबाट आएको बा ६ च ९६४ नम्बरको गाडी र बाराबाट तरकारी बोकेर आएको ना ४ च ६६३४ नम्बरको गाडीबाट बिल र कागजातमाग्दा नपाएपछि टाेलीले नियन्त्रणमा लिएकाे थियाे। त्यसपछि त्यहाँ विवाद बढेको हो।
अनुगमन स्थलमा विवादकाे समाधान नभएपछि वार्ताका लागि ब्यापारीहरुलाई १० बजे अापूर्ति बिभागमा बोलाइएको छ ।
आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले भित्र रहेको अगुगमन टोलीलाई छुटाएर व्यापारीलाई कारवाही प्रक्रिया अगाडि बढाउने बताए।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद अाचार्यका अनुसार सामान्य विषयलाई लिएर अनुमगनमा गएको टोली र व्यापारीबीच केही बेर वादविवाद भएको र अहिले स्थिति सामान्य भइसकेको छ।
आपूर्ति सचिव चन्द्र घिमिरेले सिण्डिकेट र बिचौलिया हाबी हुँदा यस्तो स्थिती आएकाले अनुमगन अगाडि बढाइएको जानकारी दिए।