आठबिसकोट नगपालिकाले २५ शैय्याको अस्पताल सञ्चालन गर्दै
शिक्षाखबर डेस्क
४ भाद्र २०७५, सोमबार
no immg

रुकुम(पश्चिम)को आठबीसकोट नगरपालिकाले २५ शैय्याको अस्पताल सञ्चालन गर्ने भएको छ । नगरबासीलाई भरपर्दो स्वास्थ्य सेवा प्रवाह गर्न नगरपालिकाले अस्पताल सञ्चालन गर्न लागेको हो । अस्पताल संचालनका लागि आवश्यक सामाग्री र जनशक्तिको व्यवस्था भइसकेको र तत्काल अस्पताल सञ्चालन गर्ने तयारी भइरहेको नगरपालिकाका निमित्त प्रशासकिय प्रमुख अधिकृत रामवहादुर केसीले बताए । ‘अस्पताल सञ्चालनका लागि सबै तयारी पुरा भइसकेकोले अब दुई साता भित्रमा अस्पताल संचालनमा आउँने उनले बताए ।

त्यस्तै, अस्पतालमा नगरपालिकाले २० जना स्वास्थ्यकर्मी तथा कर्मचारी करारमा नियुक्त गरेको छ । अस्पतालमा दुई जना हेल्थ असिष्टेन्ट, दुई जना स्टाफ नर्स, दुई जना अहेव, पाँच जना अनमी, ल्याब टेक्निसियन र ल्याब असिष्टेन्ट एक/एक जना, रेडियो ग्राफर एक जना, रिसेप्सनिष्ट दुई जना र स्पिपर चार जना गरी २० जना कर्मचारी नियुक्त गरिएको केसीले बताए । कर्मचारीको लागि यसैसाता तालिमको आयोजना गरिएको छ । साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक जना एमविविएस डाक्टर पठाउँने तयारी भएको उनले बताए ।

आवश्यक सामाग्री खरिद गरी जडान

त्यस्तै अस्पताल सञ्चालनका लागि आवश्यक सम्पूर्ण सामान खरिद गरेर जडान गरिएको छ । बेड, औषधि, ल्याबका सामाग्री, साधा तथा भिडियो एक्सरे मेशिन, इसिजि मेशिन लगायतका सामाग्री खरिद गरी जडान गरिसकिएको केसी बताए । २० लाखमा ल्याबका सामाग्री, ६ लाखमा बेड र अन्य सामाग्रीका लागि ६० लाख खर्च भएको उनको भनाइ छ । नगरपालिकाले अस्पताल स्थापनाका लागि अहिलेसम्म एक करोड बढी खर्च गरिसकेको छ । ‘सामाग्री र औषधि खरिदका लागि ८६ लाख खर्च भएको छ, उनले भने–भौतिक व्यवस्थापनका लागि अघिल्लो आर्थिक वर्षमा २० लाख खर्च भएको थियो ।’

नगरपालिकाले तत्काललाई आठबीसकोट नगरपालिका नौं राडिमा साविकको स्वास्थ्य चौकी, कृषि भवन र एक सामुदायिक विद्यालयको भवनमा अस्पताल सञ्चालन गर्ने भएको छ । अस्पतालको आफ्नो भवन निर्माण नभएसम्मका राडिमै सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

अस्पताल भवनको डिपिआर हुँदै

अस्पतालका लागि ११ नम्बरको सालबारीमा भवन निर्माण हुने भएको छ । भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) हुँदै छ । ४५ दिनभित्र डिपिआर प्रतिवेदन बुझाउँने समयसिमा सहित जिम्मा दिईएको नगरपालिकाले जनाएको छ । भवनको डिपिआर पुरा भए लगत्तै भवन निर्माणका काम सुरु हुने नगरप्रमुख गोर्खवहादुर केसीले जानकारी दिए ।

जिल्लामा तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेकामा जनप्रतिनिधि पाएको एक वर्षमै अस्पताल संचालन गर्न लागेको आठबीसकोट नगरपालिका पहिलो स्थानीय तह हो । मुसीकोट नगरपालिका बाहेक सबै स्थानीय तहले अस्पताल निर्माणको लक्ष राखेका छन् । संविधानले नगरपालिकालाई २५ र गाउँपालिकालाई १५ शैंया सम्मको अस्पताल संचालन गर्न पाउँने अधिकार दिएको छ ।

प्रतिक्रिया