शिक्षा, स्वास्थ्यका दानवीरको सम्झना, भेरी अञ्चल अस्पतालको नाम फेर्न सकिने मन्त्री इस्तियाकको संकेत
शिक्षाखबर डेस्क
६ भाद्र २०७५, बुधबार
no immg

नेपालगञ्जका दानवीर स्वर्गीय औतार देई कसौधन चौधराइनको आठौं स्मृती दिवसका अवसर पारी औपचारिक कार्यक्रमहरु सम्पन्न गरिएका छन । स्मृति दिवसका अवसरमा उहाँको शालिकमा आज माल्याअर्पण सहित फलफूल, स्टेशनरी वितरण, वृक्षारोपण तथा प्रवचन लगायतका कार्यक्रम सम्पन्न गरिएको हो ।

विंस :१९५४ मा जन्मीनु भएका चौधराइनको २०२८ भदौ ६ गते (आजकै) दिन निधन भएको थियो । नेपालगंजको शिक्षा, स्वास्थ्यका संस्थाहरु स्थापनाका लागी जग्गा तथा धेरै सम्पति दान गर्ने उहाँ दानी ब्यक्तित्व हुनुहुन्छ । नेपालगंजको महेन्द्र बहुमुखी क्याम्पस, भेरी अञ्चल अष्पताल, नारायण उच्च मावि, जिल्ला जनस्वास्थ्य कार्यालयलाई जग्गा दान गरेर शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा पु¥याएको योगदान स्मरण गर्दै नेपालगञ्ज उपमहानगरपालिका र स्वर्गिय औतारदेइ कसौधन (चौधराइन) सेवा प्रतिष्ठानले छुट्टा–छुट्टै कार्यक्रम गरेका हुन् ।

उपमहानगरपालिकाले विहान क्याम्पसको शालिकमा माल्याअर्पणका साथै वृक्षारोपण गरेको छ । नगर प्रमुख डाक्टर धवल शमशेर राणा, स्वर्गिय औतारदेइ कसौधन (चौधराइन) सेवा प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्य, क्याम्पस प्रमुख गणेश रेग्मी लगायतले अशोका, लीची लगायतका २० वटा विरुवा राप्नुभएको छ ।

यस्तै उपमहानगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेल, वडा अध्यक्षहरु लगायतले अस्पतालमा ८० जना विरामीलाई फलफूल वितरण गर्नु भएको छ । यस्तै नारायण मावीमा एक सय विद्यार्थीलाई कापी, कलम पनि वितरण गरियो । दिवसकै अवसरमा प्रतिष्ठानद्धारा अस्पताल परिसरमा आयोजित कार्यक्रममा दाता चौधराइनको योगदानको चर्चा गर्दै उहाँको शालिकमा माल्याअर्पणसहित दाता तथा समाजसेवीलाई सम्मान समेत गरिएको छ ।

शहरी विकास मन्त्री महम्मद इस्तियाक राइले जिर्ण भेरी अञ्चल अस्पतालको नयाँ भवन बनाइने उदघोष गर्नु भएको छ । पश्चिम नेपालकै पुरानो र आम जनताको स्वास्थ्य भरोसाको केन्द्रका रुपमा रहेको अस्पताललाई नयाँ स्वरुप दिन योजना र वजेट अघि सारि सकिएको बताउनु भयो । अस्पतालको नाम समेत परिवर्तन गर्न सकिने भन्दै मन्त्री राईले जग्गा दाता औतार देई कसौधन (चौधराइन) को नाममा राख्न आवश्यक पहल गर्न सम्वद्ध पक्षलाई आग्रह गर्नु भयो ।

उहाँले नगरको समग्र विकासका लागि कयौं योजनाहरु लिपीवद्ध भइसकेको भन्दै सीटी हल, शव गृह लगायतका काम चाँडै शुरु हुने बताउनु भयो । जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवस्तवले दाता चौधराइनको नाममा स्थायीत्व कोष निर्माण गरि कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो । नगर प्रमुख डाक्टर धवल शम्शेर राणाले नेपालगञ्जलाई महानगरमा रुपान्तरण गर्ने अभियान शुरु भइसकेको भन्दै सबैको साथ र सहयोगको अपील गर्नु भयो ।

सोही समारोहमा कन्हैयाल वैश्य, सरदार सहदेव सिंह, जोगराज अग्रवाल (मरणोपरान्त) तथा श्री जंग शाह, जयकेशसिंह र जगदिश प्रसाद वैश्यलाई दोसल्ला सहित सम्मान गरियो । प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा भएको कार्यक्रममा एमाले बाँकेका नेता अशोक कोइराला, पत्रकार महासंघ ५ नम्बर प्रदेशका सचिव शुक्रऋषि चौलागाई, सम्मानीत व्यक्तित्वका तर्फबाट जगदिश प्रसाद वैश्य लगायतले धाराणा राख्नुभएको थियो ।

दाताको परिवारका तर्फबाट रमारानी वैश्यले स्वागत गर्दै उहाँको योगदान बारे चर्चा गर्नु भएको थियो भने धन्यवाद ज्ञापन भेरी अञ्चल अष्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकाश थापाले गर्नु भएको जनाईएको छ ।

प्रतिक्रिया