धनकुटा,एभोकाडोको राजधानी मानिएको धनकुटा नगरपालिकमा यसवर्ष ४० हजार विरुवा बिक्रि भएको छ । पछिल्लो समय एभोकाडोको विरुवाको माग उल्लेख्य बढेको धनकुटा ७ का नर्सरी व्यवसायी भरत गुरागाईले जानकारी दिनुभयो । नगर क्षेत्रमा विगत दुई महिनाको अवधिमा करिब ८० लाख बढीको एभोकाडो विरुवा बिक्रि भइसकेको कृषि विज्ञ तथा एभोकाडो खेतीका अभियान्ता जीवन राईले बताउनुभयो । एभोकाडोको विरुवा प्रति गोटा औषत २ सय रुपैयाँले बिक्रि हुने गरेको छ । एभोकाडोको खेतिप्रति स्थानीयको आकर्षण बढेको आधारमा धनकुटा नगरलाई ‘एभोकाडोको राजधानी’ घोषणा गरिएको नगर प्रमुख चिन्तन तामाङ्गले बताउनु भयो । नगरसभाले मेयर कृषि पर्यटन कार्यक्रम अन्तर्गत एभोकाडोको राजधानी र ड्रागन फलको विशेष क्षेत्र औपचारिक रुपमा पारित गरेपछि यसको खेती विस्तारसँग स्थानीयको आकर्षण समेत बढेको प्रमुख तामाङले जानकारी दिनुभयो ।