गण्डकी प्रदेश भूमिव्यवस्था तथा कृषि सहकारी मन्त्रालय मातहातमा लमजुङमा दुई वटा कार्यालय बिहीबारबाट सञ्चालनमा आएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रको गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले उद्घाटन गरेका हुन् ।
उनले नवस्थापित कार्यालयको उद्घाटन गर्दै प्रदेश सरकारको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने प्रतिनिधिमूलक कार्यालय भएको बताए । उनले भने यो स्थानीय सरकारको हस्तक्षेपका लागि नखोलिएको भन्दै त्यस्तो भ्रम नराख्न लमजुङबासीलाई आग्रह गरेका छन् ।
यो संघीय सरकारको अधिकार प्रत्यायोजनको एक नमूना कार्य हो मन्त्री थापाले भने यस कार्यालयले लमजुङ जिल्लाका सबै गाउँपालिका र तत्कालका लागि मनाङ समेत हेर्ने छ । गण्डकी प्रदेशमा ६ जिल्लामा कृषि ज्ञान केन्द्र र ७ जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा ज्ञान केन्द्र रहने उनले बताए ।
कृषि र पशुपालनमा अबको तीन वर्ष भित्र आत्म निर्भर हुने गरी कार्य गर्नु पर्ने प्रदेश सरकारले निर्णय गरेको उनले बताए । त्यसका लागि बचत सहकारीले लगानी गर्ने ऋणमा कम्तिमा ३० प्रतिशत कृषिमा लगानी गर्नु पर्ने गरी सहकारी ऐन ल्याउन लागेको उनकाे भनाइ छ ।
त्यसैगरी गाउँपालिकाले १५ प्रतिशत र वडाले ५० प्रतिशत खर्चिनु पर्दछ । सडकमात्र निर्माण गरेर समृद्धि आउँदैन । अब पुरानो सोचमा चलेर हुँदैन । नयाँ सोच अनुसार काम गर्नु पर्दछ ।
मन्त्री थापाले गण्डकी प्रदेशमा दैनिक ६ लाख लिटर दूधको आवश्यक पर्ने भन्दै हालको उत्पादन दैनिक एक लाख लिटर पनि नभएको बताए । उक्त लक्ष्य हासिल गर्नका लागि यस कार्यालयको स्थापना गरिएको हो । थापाले भने कार्यालयको बोर्ड मात्र फेरीएको होइन कार्यालयले प्रदान गर्ने सेवा सुविधा पनि फेरीने छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य मुधु अधिकारीले स्थापित दुई कार्यालयले जिल्लाको समृद्धिमा टेवा पुर्याउने बताइन् । दुवै कार्यालयको स्थापनाले जिल्लाका कुनाकन्दरामा रहेका किसानलाई समान रुपमा सेवा दिएको प्रत्याभूत दिलाउन सक्नुपर्ने उनको भनाई छ । बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले कृषि र पशु क्षेत्र समृद्धिको आधार भएकाले पनि यसलाई निर्वाहमूखि नभई व्यसायिक बनाउनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, नेकपाका प्रतिनिधि सुनिल सुनार, काँग्रेसका प्रतिनिधि गमप्रसाद गुरुङ, नवस्थापित कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णभद्र अधिकारी लगायतले मन्तव्य राख्दै अब सिंहदरबारको अधिकार गाउँमै आएकाले यसको सहि सदुपोयग गर्न लमजुङका जनतालाई आग्रह गरे ।
साभार- नयाँ पत्रिका