पोखरा विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको आन्तरीक सफ्टवेयर सिस्टम ह्याक गरेको आशंकमा एक कर्मचारी पक्राउ परेका छन् । सबै कम्प्युटरका पासवर्ड परिवर्तन गरि सिस्टममा छेडखानी गरिएको शंकामा विश्वविद्यालयको जाहेरीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अनुसन्धान थालेको हो । घटनाका शंकास्पद दुइ कर्मचारी फरार छन् । पोखराको लेखनाथ ढुंगेपाटनस्थित केन्द्रीय कार्यालय परिसरका सबै कम्युटरमा पुराना पासवर्डले काम नगरेपछि मंगलवार विश्वविद्यालयको आकस्मिक बैठक बसेको थियो । इञ्जिनियरिङतर्फका सयौं विद्यार्थीको जानकारी संग्रहीत सिस्टममाथि छेडछाड हुनु गम्भिर रहेको भन्दै विश्वविद्यालयले अनुसन्धानका लागि सीआइबीलाई अनुरोध गरेको थियो । प्रहरीले एक कर्मचारीलाई विहीवार पक्राउ गरेको हो । सफ्टवेयर सिस्टमले काम नगरेपछि गत बुधबार विश्वविद्यालयका केही जिम्मेवार पदाधिकारीले परीक्षा नियन्त्रण कार्यालयमा कार्यालय समयबाहेक को पसेको थियो भनेर सीसीटीभीको फुटेज हेरेका थिए । उक्त फुटेजमा बेलुकी सुरक्षा गार्डलाई झुक्याएर दुइजना कर्मचारी पसेको र उनीहरू १ घण्टा १५ मिनेट भित्र बसेर कम्प्युटरका सिस्टमसँग छेडखानी गरिरहेको फुटेजमा पाइएको स्रोतले बताएको छ । घटनाका विषयमा विश्वविद्यालयले आफ्नो औपचारिक भनाइ सार्वजनिक गरिसकेको छैन । नेपाल विद्यार्थी संघ विश्वविद्यालय मुल इकाई समितिले विज्ञप्ति जारी गर्दै परीक्षा नियन्त्रण कार्यालयको सिस्टममा गडबडी भएको पुष्टि गरेको छ । समितिका सभापति फिरोज सुवेदी र सचिव मिमराज शाहीले परीक्षा नियन्त्रण कार्यालयको लापरबाही र असुरक्षित व्यवस्थापनका कारण विद्यार्थीको डिजिटल रेकर्डमाथि खेलबाड हुनु गम्भिर घटना भएको उल्लेख गरेका छन् । विद्यार्थीको रेकर्ड चोरी र फेरबदल गरिएको हुनसक्ने शंका गर्दै उनीहरूले घटना छानबिनको माग गरेका छन् । घटना अनुसन्धानका लागि बिहीवार दिउँसो सीआइबीको टोली विश्वविद्यालयमा आएपछि मात्रै खुलेको हो । विश्वविद्यालयका उपकुलपति चिरञ्जिीविप्रसाद शर्मा मोबाइल अफ गरेर बसेका छन् । रजिष्ट्रार गोविन्दप्रसाद शर्माले सीआइबीले अनुसन्धान थालेकाले आफूले सत्यतथ्य बाहिर आउने बताए । ‘गम्भिर विषय भएकाले हामीले विश्वविद्यालयको आकस्मिक बैठक डाकेर सीआइबीलाई अनुसन्धानका लागि आग्रह गरेका हौं,’ उनले भने, ‘अनुसन्धान सुरु भएकाले हामीले बोल्न मिल्दैन । सत्यतथ्य बाहिर आउने नै छ ।’ सीआइबीको साइबर अपराध सेलले विश्वविद्यालयका सबै कम्प्युटरको जाँच गर्ने भएको छ । विश्वविद्यालयले शुक्रवार शंकास्पद सिस्टमका डिभाइसहरू सीआइबीलाई पठाउने तयारी गरेको छ ।