सिँचाइले बढायो धानखेती
शिक्षाखबर डेस्क
१० भाद्र २०७५, आईतवार
no immg

बिर्तामोड : झापामा यो वर्ष धानको क्षेत्रफल बढेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष दुई हजार हेक्टर बढी क्षेत्रफलमा धान रोपाइँ भएको हो । तत्कालीन जिल्ला कृषि विकास कार्यालय झापाका वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीका अनुसार यो वर्ष ८७ हजार पाँच सय हेक्टरमा धानखेती गरिएको छ । अघिल्लो वर्ष ८५ हजार पाँच सय हेक्टरमा धानखेती गरिएको थियो ।

समयमा वर्षा हुनुको साथै सिँचाइ नहुने क्षेत्रमा समेत यो वर्ष सिँचाइको व्यवस्था मिलाइएकाले धान रोपाइँको क्षेत्रफल बढेको उनको भनाइ छ । ‘यो वर्ष स्थानीय तह र कृषि शाखासहित धान सुपरजोनमा सिँचाइ सुविधा पु¥याउन बोरिङ र नहरको व्यवस्था गरिएकाले क्षेत्रफल बढ्यो’, उनले भने, ‘समयमा वर्षा हुँदा पनि त्यसले कृषकलाई राहत मिल्यो ।’

पर्याप्त सिँचाइ सुविधा र उन्नत जातका धानको बिउ राखिएकाले झापाका कृषकले साउन अन्त्यसम्म नै रोपाइँ गरेका थिए । यसअघि पुराना जातका धानको बिउ र पर्याप्त वर्षाको अभावमा साउन १५ सम्म मात्र रोपाइँ हुने गरेको थियो ।

यो वर्ष धानखेतीका लागि ठिक्क वर्षा भएको र बाढीको साथै डुबान पनि नभएकाले उत्पादनमासमेत वृद्धि हुने अनुमान गरिएको छ । ‘अहिले लगाइएको धान खेतीलाई पानी पर्याप्त छ’, वरिष्ठ कृषि विकास अधिकृत डाँगीले भने, ‘अब बाढी र डुबान नभए धान उत्पादन पनि बढ्नेछ ।’ धान उत्पादनको प्रमुख जिल्ला मानिने झापामा यो वर्ष कृषकले मल्का बासमती, कालो बासमती, चुल्ठे, साम्भा सप, मनसुली सुक्खा तीन, आरपी—१०१७ लगायत जातका धान रोपेका छन् ।

प्रतिक्रिया