काठमाडौं १० भदौ / चौरपाटी गाउँपालिका–६ दुनी, अछाम स्थित पञ्चकोटी आधारभूत विद्यालयले कक्षाकोठामा मोबाइल प्रयोग गरे सो दिनको आधा तलब कट्टा गर्ने नियम बनाएको छ । नयाँ पत्रिकाका अनुसार कक्षाकोठामा शिक्षकले पठाउनेभन्दा पनि मोबाइलमै बढी समय बिताउन थालेको विद्यार्थीले गुनासो गरेपछि अविभावक भेलाले यस्तो नियम बनाएको हो ।
‘शिक्षकहरू पढाउन छोडेर मोबाइलमा व्यस्त हुन थाले । पढाउने कुरामा त वास्ता नै हुँदैन । त्यसो नगर्न कैयौँपटक आग्रह गर्दा पनि सरहरूले मान्नुभएन,’ विद्यार्थीको गुनासो उद्धृत गर्दै खडक साउँदले भने, ‘सरहरूको मोबाइल चलाउने बानीले हाम्रो पढाइ बिग्रियो, हजुरले सम्झाइदिनुप¥यो भने सोहीअनुसार निर्णय भएको हो ।’
चार वर्षअघि सेभ द चिल्ड्रेन र वाक नेपालले स्थापना गरेको गुनासो सुनुवाइ संयन्त्रअन्तर्गत विद्यालयमा राखेको सुझाबपेटिकामा विद्यार्थीले खसालेको पत्रको आधारमा प्रधानाध्यापक साउँदले विद्यार्थीलाई छलफलका लागि पनि बोलाएका थिए । त्यसपछि कक्षामा मोबाइल प्रयोग गर्न प्रतिबन्ध लगाइएको प्रधानाध्यापक साउँदको भनाइ छ ।
‘विद्यार्थीको व्यापक गुनासो आयो,’ प्रधानाध्यापक साउदले भने, ‘यसबारे अभिभावक भेलामा पनि कुरा चल्यो ।’
शिक्षकको मोबाइल प्रधानाध्यापककै कक्षमा
सामान्य निर्देशनले समस्या रोकिने नदेखिएपछि प्रधानाध्यापककै कार्यकक्षमा मोबाइल फोन राख्न ब्याग तयार गरिएको छ । सबै शिक्षकले सोहीअनुसार कक्षामा जानुअघि मोबाइल जम्मा गर्दै आएका पनि छन् । विद्यार्थी, अभिभावक र शिक्षककै सल्लाहमा पढाइ सुधारका लागि यस्तो गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनदेवी खड्काले बताइन् ।