सुर्खेतमा टिचिङ अस्पताल सञ्चालन गरिने
शिक्षाखबर डेस्क
२१ भाद्र २०७५, बिहीबार
no immg

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतलाई टिचिङ अस्पतालको रूपमा विकास गर्ने तयारी थालेको छ । प्रतिष्ठानले यसअघि जुम्लामै टिचिङ अस्पताल सञ्चालन गर्ने तयारी गरेको थियो । तर, कर्णाली प्रदेश सकारले नै टिचिङ अस्पताल सञ्चालन गर्ने भएपछि सुर्खेतमा टिचिङ अस्पताल बनाउने तयारी थालिएको हो ।

टिचिङ अस्पताल सञ्चालन गर्न तीन सय शय्याको अस्पताल आवश्यक पर्छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा त्यो पूर्वाधार थियो । तर, जुम्लामा बिरामीको चाप कम हुने भएकाले सुर्खेतमा टिचिङ अस्पतालको रूपमा विकास गर्ने तयारी थालिएको हो ।

सुर्खेतमा तीन सय ५० शय्याको अस्पताल बन्ने
मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा टिचिङ अस्पताल सञ्चालन हुने भएपछि प्रदेश सरकारले ३ सय ५० शय्याको अस्पताल बनाउने तयारी थालेको छ । तीन सय शय्याको अस्पताल सञ्चालन भएपछि सुर्खेतमै टिचिङ अस्पताल सञ्चालन हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रमुख प्रा.डा.धर्मराज श्रेष्ठले बताए । ‘एमबिबिएस पढाइ सञ्चालन गर्न तीन सय शय्याको अस्पतालमा ६० प्रतिशत बेडमा बिरामी हुनुपर्छ,’ उनले भने, ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका त्यति बिरामी हुँदैनन्, त्यसैले सुर्खेत अस्पताललाई टिचिङ अस्पतालका रूपमा विकास गर्न लागिएको हो ।’

सुर्खेतमा अर्को वर्षबाट एमबिबिएस पढाइ सुरु गर्न सकिने उनले बताए । ‘यो आर्थिक वर्षमा टिचिङ अस्पताल बनाउनका लागि सुर्खेत अस्पताल र प्रतिष्ठानबीच एमओयु हुन्छ । आगामी आर्थिक वर्षमा टिचिङ अस्पताल बनाएर एमबिबिएसको पढाइ सुरु गर्न सकिन्छ ।’

६ वटै जिल्लामा स्वास्थ्यको पढाइ
कर्णाली प्रदेशका ६ जिल्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एचए, अनमी, ल्याब असिस्टेन्ट र फार्मेसीको पढाइ गर्ने तयारी थालेको छ । कर्णाली प्रदेशमा पर्ने रुकुम चौरजहारी, मुगुको गमगढी, जाजरकोटको खलंगा, कालिकोटको मान्मा, जुम्लाको चन्दननाथ र सुर्खेतका वीरेन्द्रनगरमा ती विषयमा पढाइ सञ्चालन गर्ने तयारी भएको हो ।

एचए, अनमी, ल्याब असिस्टेन्ट र फार्मेसी पढाउनका लागि ५० शय्याको अस्पताल आवश्यक पर्छ । त्यसका लागि कर्णाली प्रदेशका ६ जिल्लाका ६ वटै जिल्लामा पूर्वाधार तयार भएको प्रा.डा. श्रेष्ठले बताए । ‘कर्णाली प्रदेशका ६ वटा जिल्लामा पूर्वाधार विकास सबै पुगेको छ । यसै आर्थिक वर्षबाट पढाइ सुरु गर्ने तयारी थालेका छौँ,’ उनले भने ।

प्रतिक्रिया