तीनपाटन गाउँपालिका–१ बेलघारीमा रहेको चन्द्रावती माविका विद्यार्थीले विद्यालयमा विषयगत शिक्षक र खानेपानीको माग गर्दै तालाबन्दी गरेका छन् । विगत तीन महिनादेखि विज्ञान र गणित विषयको शिक्षक नहुँदा विद्यालयको पठनपाठन प्रभावित हुँदै आएको छ ।
विषयगत शिक्षक नहुँदा गणित र विज्ञान विषयको पढाइ हुन सकेको छैन । विद्यार्थीले विषयगत शिक्षक र खानेपानीको व्यवस्था गर्न माग गर्दै विद्यालयमा अनश्चितकालीन तालाबन्दी गरेका हुन् ।
विद्यालयमा कार्यरत निमावि दरबन्दीका विज्ञान शिक्षक अम्बर महतो र गणित विषयका शिक्षक अरुणकुमार कटुवाल सरुवा भई अन्यत्र गएपछि विद्यालयमा गणित र विज्ञान विषयको पढाइ हुन नसकेको कक्षा १० का विद्यार्थी उत्तम अधिकारीले बताए ।
विषयत शिक्षक नहुँदा विगत तीन महिनादेखि विज्ञान र गणित विषयको पढाइ भएको छैन । पढाइ नभएको विषयमा प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिलाई जानकारी गराए पनि बेवास्ता भएपछि आन्दोलनमा उत्रनु परेको विद्यार्थीहरूको भनाइ छ । शिक्षक माग गर्दै विद्यार्थीले प्ले–कार्डसहित बुधबारदेखि विद्यालयको मूल गेटमा धर्ना सुरु गरेका छन् । ‘पढ्न पाउनु हाम्रो अधिकार हो,’ विद्यार्थीले भने, ‘तर विषयगत शिक्षक नहुँदा हामी पठनपाठनबाट वञ्चित हुनुपरेको छ । विद्यालयमा खानेपानी पिउन समेत पाइँदैन ।’
केही गर्न सक्ने अवस्था छैन : प्रअ
विद्यार्थीको माग जायज भए पनि विद्यालय प्रशासन वा प्रधानाध्यापकले मात्रै चाहेर तत्कालै केही हुने अवस्था नरहेको प्रधानाध्यापक अर्जुन घिमिरेले बताए । शिक्षक भर्नाका लागि स्थानीय तहको स्वीकृति आवश्यक पर्छ । तर, स्थानीय तहमा शिक्षा सम्बन्धित ऐन तथा कानुन नै नबनेका कारण समस्या भएको उनको भनाइ छ । कानुन निर्माणमै ढिलाइ भएकाले पनि शिक्षक पदपूर्ति गर्न समस्या भएको घिमिरेले बताए ।
‘स्थानीय तहमा कानुनको अभाव छ । जिल्ला शिक्षा कार्यालय खारेज भएपछि गुनासो गर्ने निकायसमेत छैन,’ प्रअ घिमिरेले भने । मावि तहमा गणित शिक्षक करारमा भर्ना गर्न स्थानीय तहले सहमति दिएको छ । तर, प्रक्रिया पूरा गरेर शिक्षक भर्ना गर्न कम्तीमा पनि १५ दिन लाग्ने उनले बताए ।
विद्यार्थीले भने आफ्ना माग पूरा नभएपछि विद्यालय सञ्चालन हुन नदिने बताएका छन् । ‘विद्यार्थीका माग तुरुन्त पूरा गर्न हामीले सम्बन्धित निकायलाई जानकारी गराएका छौँ,’ प्रअ घिमिरेले भने, ‘विद्यालयमा खानेपानीको व्यवस्था ट्युबवेलमार्फत गरेका थियौँ । त्यो पानी खानयोग्य नहुँदा अर्को समस्यासमेत सिर्जना भयो ।’