काठमाडौं २२ भदौ / अनौपचारिक माध्यमबाट शिक्षा प्राप्त गरेकाहरूको योग्यताका आधारमा समकक्षता निर्धारण गरिने भएको छ ।
गृहणी शिक्षा, साक्षरता कक्षा लगायत माध्यमबाट अनौपचारिक शिक्षा पाएकाहरूको शैक्षिक तहलाई समकक्षता प्रदान नगरिएकाले उनीहरूको माथिल्लो तह अध्ययन गर्ने बाटो बन्द भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसका लागि राष्ट्रिय समकक्षता संरचना तयार गर्दैछ । सो संरचनाले औपचारिकका साथै अनौपचारिक र व्यावसायिक एवं सिपमूलक तालिमलाई पनि समकक्षता प्रदान गर्ने बाटो खुला गर्नेछ ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा शिक्षा सचिव खगराज बरालले यस्तो संरचना छिटै स्वीकृत हुने बताउनुभयो । हाल वैकल्पिक शिक्षाअन्तर्गत कक्षा एकदेखि १० सम्म पाँच वर्षमा उत्तीर्ण गर्न पाउने र त्यसको समकक्षता निर्धारण गरिदिने व्यवस्था छ ।
युनेस्को र विश्व शिक्षाले त्यस्तो संरचना तयार गर्न सरकारलाई सहयोग गरिरहेको कार्यक्रममा जानकारी दिइयो । युनेस्कोका शिक्षाविद् बलराम तिम्सिनाले अनौपचारिकरुपमा शिक्षा पाएकाहरूको पनि समकक्षता निर्धारण गरिदिनै पर्दछ भन्दै अनौपचारिकदेखि औपचारिक शिक्षासम्मका सबैलाई समेट्ने गरी संरचना तयार गरिनुपर्ने बताउनुभयो ।
केन्द्रका महानिर्देशक बाबुराम पौडेलले कक्षा १ देखि १२ सम्ममा पाँच तहमा समकक्षता निर्धारण गरिदिने प्रस्ताव गरिएको जानकारी दिनुभयो ।