विषादी परीक्षण गर्ने किट्स नै छैन
शिक्षाखबर डेस्क
२४ भाद्र २०७५, आईतवार
no immg

यो वर्ष उपभोक्ताले खाने तरकारी र फलफूलमा विषादी नै भेटिएन । किसानले प्रयोग गर्न छाडेर वा सरोकारवाला निकायले तरकारी र फलफूलमा विषादी प्रयोगमा कडाइ गरेकाले नदेखिएको भने होइन ।

तरकारी तथा फलफूलमा प्रयोग गरिएको विषादीको मात्रा परीक्षण गर्न कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको बाली संरक्षण निर्देशनालयले कालीमाटी फलफूल तथा तरकारी बजारमा स्थापित विषादी अवशेष दु्रत विश्लेषण एकाइले यो वर्ष तरकारी र फलफूलको परीक्षण नै नगरेकाले विषादीको प्रयोग नदेखिएको हो ।

‘हामीसँग विषादी परीक्षण गर्न पर्याप्त किट्स र जनशक्ति पनि छैन,’ एकाइमा कार्यरत कृषि प्राविधिक जागेश्वर शर्माले नयाँ पत्रिकासँग भने । बजारमा दिनहुँ देशैभरि र भारतबाट समेत गरी दर्जनौँ प्रकारका हरिया तरकारी र फलफूल आउने, तर एकाइले चार–पाँच प्रकारका तरकारी मात्र परीक्षण गर्दै आएको उनले जानकारी दिए ।

‘त्यही चार–पाँच प्रकारका तरकारी परीक्षण गर्दा पनि अब १५ दिनजतिलाई पुग्ने मात्र रिएजेन्ट बाँकी छ,’ उनले भने । विगतका वर्षमा कालिमाटी बजारमा बेच्न ल्याइएको हरिया तरकारी र फलफूलमा अत्यधिक मात्रामा विषादीको प्रयोग गरेको भेटिएपछि एकाइले तरकारी र फलफूल जफत गरेर नष्टसमेत गरेको थियो ।

विषादी अवशेष द्रुत विश्लेषण एकाइमा दुईजना कर्मचारी

विषादी अवशेष द्रुत विश्लेषण एकाइमा दुईजना मात्र कर्मचारी रहेको शर्माले बताए । ‘एकजना मै हुँ, अर्का एकजना करारका कर्मचारी छन्,’ उनले भने । संघीयता कार्यान्वयनसँगै गत १ साउनदेखि संघअन्तर्गतका कार्यालय, कर्मचारी र जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण भएको, तर एकाइ कुन निकायसँग सम्बन्धित हो भन्नेसमेत अन्योल रहेको शर्माले बताए । ‘कुन कार्यालयप्रति जवाफदेही हुने भन्ने पनि छैन, साउनयता तलबभत्ता पनि पाएका छैनौँ, हामीले काम गरे नगरेको हेर्ने निकाय पनि छैन,’ उनले भने, ‘सबै उपभोक्तासँग जोडिएका विषयमा संवेदनशील हुनुपर्नेमा कसैलाई चासो नै छैन ।’

सबै प्रकारका विषादी परीक्षण हुँदैनन्

तरकार तथा फलफूललाई किरा–फट्यांग्राबाट जोगाउन किसानले विभिन्न प्रकारका विषादी प्रयोग गर्दै आए पनि एकाइसँग अर्गानोफोस्फरस र कार्वामेट मात्रा परीक्षण गर्ने सुविधा रहेको शर्माले बताए । किसानले तरकारी र फलफूलमा धेरै प्रयोग गर्ने सिन्थेटिक पाइरिथेइड्स र डाइथिकार्वोमेट्सजस्ता परीक्षण गर्न सुविधा नै नरहेको उनको भनाइ छ ।

बर्सेनि झन्डै ७० करोडको विषादी प्रयोग

नेपालमा बर्सेनि झन्डै ७० करोड रुपैयाँबराबरको एक दर्जनभन्दा बढी प्रकारका विषादी आयात हुँदै आएको बाली संरक्षण निर्देशनालयअन्तर्गतको विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखाले जनाएको छ । त्यसरी आयात गरिने विषादीमध्ये तरकारीमा ८० प्रतिशत प्रयोग हुने गरेको छ । बाँकी फलफूल र मुसा मार्न, साङ्ला, झिंगा आदि मार्न प्रयोग हु“दै
आएको छ ।

स्वास्थ्यमा गम्भीर असर गर्छ

तरकारीमा अत्यधिक विषादीको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने चिकित्सकले बताएका छन् । अत्यधिक विषादी प्रयोग गरिएको तरकारी तथा फलफूल नियमित खानाले लामो समयमा बाँझोपन हुने, क्यान्सर हुने, मिर्गाैलाको समस्या हुने बच्चा अपांगता जन्मनेलगायतका समस्या हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक शेरबहादुर पुनले बताए ।

कर्मचारी समायोजनले गर्दा केही समस्या भएको हुन सक्छ : तेजबहादुर सुवेदी, प्रवक्ता,
कृषि तथा पशुपक्षी विकास मन्त्रालय

संघीयता कार्यान्वयनसँगै कर्मचारी व्यवस्थापनको अन्तरिमकाल भएकाले केही समस्या भएको हुन सक्छ । त्यहा“ कार्यरत पुराना कर्मचारी सरुवा भएका र नया“ व्यवस्थापन भइनसकेको हुन सक्छ । के छ म त्यो बुझ्छु । तर, हामीले कर्मचारी व्यवस्थापनको जिम्मा नया“ गठन गरिएको राष्ट्रिय प्लान्ट क्वारेन्टाइन र विषादी नियन्त्रण एकाइलाई दिएका छौँ । विषादी अवशेष दु्रत विश्लेषण एकाइले पनि सबै प्रकारका विषादी परीक्षण गर्न सक्दैन । सबैभन्दा धेरै प्रयोग हुने र घातक विषादी मात्र परीक्षण गर्दै आएको छ । रिएजेन्ट नभएकोबारे जानकारी भएन । त्यस्तो रहेछ भने तत्काल समस्या समाधानका लागि प्रयास गर्नेछौँ ।

प्रतिक्रिया