सरुवारोग अस्पतालमा ८३ वर्षपछि आइसियू सञ्चालन
शिक्षाखबर डेस्क
२५ भाद्र २०७५, सोमबार
no immg

नेपालको एक मात्र सरुवारोग अस्पतालमा ८३ वर्षपछि आइसियू सेवा सञ्चालनमा आएको छ । सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा अस्पताल स्थापनाको ८३ वर्षमा पहिलोपटक भेन्टिलेटरसहितको आइसियू सेवा सञ्चालनमा आएको हो ।

पटक–पटक अस्पतालले आइसियू सञ्चालन गर्न पहल गरे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेवास्थाका कारण सेवा सञ्चालनमा आउन सकेको थिएन । पछिल्लो समय देशभर सरुवारोगको प्रकोप बढ्दै गएपछि अस्पतालले आफ्नै प्रयासबाट सेवा सञ्चालनमा ल्याएको अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले बताए ।

तीन बेड खचाखच
निर्देशक पाण्डेका अनुसार समस्याका चाङ बग्रेल्ती छन् । चार बेड आइसियू रहे पनि तीन बेड मात्रै सञ्चालनमा छन् । अस्पतालका अनुसार विगतमा बर्डफ्लुको समयमा ल्याएको एउटा भेन्टिलेटर पनि सञ्चालनमा छ ।

आइसियू सञ्चालन गरेदेखि नै अस्पतालमा मन्त्रालयका माथिल्लो निकायका अधिकारीहरूले आफ्ना मान्छे भर्ना गर्न आग्रह गर्न थालेको पाइएको छ । ‘आइसियू सञ्चालन गर्न कुनै सहयोग नगर्ने, तर सञ्चालनमा आएको दिनदेखि आफ्नो मान्छे भर्ना गरिदिनू भन्नु कति उचित हुन्छ ?’ अस्पतालका एक कर्मचारीले भने । दैनिक ५ देखि १० जनासम्म बिरामी आइसियूमा राख्ने प्रकृतिका हुन्छन् ।

देशभरबाट आउँछन् बिरामी
अस्पतालले जनाएअनुसार सरुवारोगसँग सम्बन्धित बिरामीहरू उपचारका लागि ७७ वटै जिल्लाबाट टेकु अस्पताल आउँछन् । मुख्यतया विभिन्न जनावरले टोकेका, एचआइभी एड्स लागेका, सर्पले टोकेका,विभिन्न कीटजन्य रोग लागेका वा लाग्ने सम्भावना भएका विरामी शुक्रराज ट्रपिकल अस्पताल टेकु जाने गरेका छन् ।

आइसियू चल्यो : चिकित्सक छैनन्
आइसियू सेवाका लागि एनेस्थेसियासहितको चिकित्सक टोली आवश्यक पर्छ । आइसियूको इन्चार्ज नै एनेस्थेसियोलोजिस्ट हुनुपर्ने प्रावधान छ । तर, टेकु अस्पतालमा एनेस्थेसियाको दरबन्दी छैन भने भएको चिकित्सकको दरबन्दीमा पनि सरकारले नै सबै पढ्न पठाएको छ ।

मेडिकल अफिसर ७ जनाको स्थायी दरबन्दी रहेको टेकुमा ६ जनालाई दरबन्दी टेकु देखाएर पढ्न पठाएको छ । टेकु अस्पतालमा हाल एकजना मेडिकल अफिसर मात्रै कार्यरत छन् । ऐनेस्थेसियाको दरबन्दी नभएपछि टेकुले वीर अस्पतालसँग समन्वय गरी आकस्मिक सेवा दिँदै आएको छ । अस्पतालले दातृनिकायसँग समन्वय गरेर आइसियू सेवा दिने तयारी थालेको छ ।

प्रतिक्रिया