राजर्षि जनक विश्वविद्यालय जानै चाहँदैनन् त्रिविका कर्मचारी
शिक्षाखबर डेस्क
२७ भाद्र २०७५, बुधबार
no immg

काठमाडौं २७ भदौ / राजर्षि जनक विश्वविद्यालयका आंगिक क्याम्पस बनाइएका जनकपुर, सिरहा र सप्तरीका तीन क्याम्पसमा त्रिविअन्तर्गतका चार सय प्राध्यापक र कर्मचारी छन् । तर, तीमध्ये २४ जनाले मात्र नयाँ विश्वविद्यालय जान निवेदन दिएका छन् ।

त्रिविअन्तर्गत जनकपुरको रामस्वरूप रामसागर, सिरहाको सूर्यनारायण सत्यनारायण मो. यादव र सप्तरीको विन्देश्वरी बहुमुखी क्याम्पसलाई राजर्षि जनकका आंगिक क्याम्पस बनाइएको छ । ती क्याम्पसमा रहेका करिब चार सय प्राध्यापक र कर्मचारीमध्ये १७ प्राध्यापक र सात कर्मचारीले मात्र राजर्षि जनक आउन निवेदन दिएका छन् । राजर्षि जनकमा उपकुलपति नियुक्त गरेको तीन महिनाभित्र नयाँ विश्वविद्यालय आउन चाहने कर्मचारीले निवेदन दिइसक्नुपर्ने ऐनमा व्यवस्था छ ।

राजर्षि जनकको उकुलपतिमा डा. भरत झा नियुक्त भएको तीन महिना भइसकेको छ । नयाँ आएका प्राध्यापक र कर्मचारीसहित अहिले विश्वविद्यालयमा ३७ जना कार्यरत छन् । हाल २० प्राध्यापक र २० कर्मचारीको मात्र दरबन्दी भएको उपकुलपति झाले जानकारी दिए ।

अधिकांश कर्मचारीले नयाँ विश्वविद्यालयले भएकाले तलब वा अन्य सेवा–सुविधा समय दिन नसक्ने आशंका व्यक्त गरिहेको उपकुलपति झाले बताए । तर, राजर्षि जनक विश्वविद्यालय पूर्ण रूपमा सरकारको खर्चमा सञ्चालन हुने विश्वविद्यालय भएकाले भविष्यमा आर्थिक संकट आउने सम्भावना कम रहेको उपकुलपति झाले बताए ।

‘हामीसँग प्राध्यापक र कर्मचारी अभाव छ, दरबन्दी बढाउन पहल भइरहेको छ,’ उपकुलपति झाले भने । अहिले प्राप्त दरबन्दीमा पनि सेवा आयोगबाट पदपूर्ति गर्ने उनको भनाइ छ ।

२९ कात्तिकदेखि कक्षा सञ्चालन

-झन्डै दुई दशकदेखि चर्चामा रहेको राजर्षि जनक विश्वविद्यालयले आगामी २९ कात्तिकदेखि विभिन्न चार संकायका कक्षा सञ्चालन गर्ने तयारी थालेको छ । विश्वविद्यालयले २४ भदौदेखि फारम भर्न विद्यार्थीलाई आह्वान गरिसकेको छ । अहिलेसम्म ३० विद्यार्थीले प्रवेश परीक्षाको फारम लगिसकेका छन् ।

-राजर्षि जनकले मानविकी संकायतर्फ बिसिए, वाणिज्यतर्फ बिबिए, विज्ञानतर्फ बिएस्सी आइटी र स्वास्थ्यतर्फ बिएस्सी एमएलटी सञ्चालन गर्न लागेको छ । यी विषय नेपालका अन्य विश्वविद्यालयका भन्दा फरक रहेको मानविकी संकायका डिन जुगेश्वर साहले बताए ।

प्रतिक्रिया